Logo
८ साउन २०८१, मंगलबार

भारतलाई विश्वकप जिताएसँगै कप्तान रोहित र विराटले लिए टी-२० बाट संन्यास

अक्षरपाटी
२०८१ असार १६ , आईतबार १०:०६ मा प्रकाशित


काठमाडौँ,१६ असार । भारतलाई विश्वकप उपाधि जिताएसँगै भारतीय कप्तान रोहित शर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

शनिबारको खेलपछि भएको पत्रकार सम्मेलनमा कप्तान शर्माले टी-२० विश्वकपको फाइनल नै उनको टवान्टी-२० अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेल भएको बताएका हुन् ।

रोहित शर्माले पत्रकार सम्मेलनमा भने, ‘यो मेरो अन्तिम प्रतिस्पर्धा गियो । मैले हरेक क्षणलाई प्रेम गरेको छु । म यही चाहन्थेँ । म भारतलाई विश्वकप जिताउन चाहन्थेँ ।’ रोहित शर्माले टेस्ट र एकदिवसीय क्रिकेट भने खेलिरहनेछन् । उनकै नेतृत्वमा भारतले १७ वर्षपछि विश्वकप उपाधि जित्न सफल भएको छ । पूरा प्रतियोगिता अपराजित रहेको भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएको हो ।

विराटले पनि लिए टी-२० बाट संन्यास

भारतीय स्टार क्रिकेटर विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रियबाट संन्यास लिएका छन् । भारतले विश्वकप उपाधि जितेसँगै कोहलीले संन्यासको घोषणा गरेका हुन् । विश्वकप फाइनल खेलमा कोहलीको उत्कृष्ट प्रदर्शन रह्यो । दक्षिण अफ्रिकाविरुद्ध भारतले १७६ रन बनाउँदा कोहली एक्लैले ५९ बलमा ७६ रन बनाए । उनी प्लेयर अफ द म्याचसमेत चुनिए ।

कोहलीले भने, ‘यो मेरो आखिरी टी-२० विश्वकप थियो । हामी यही हासिल गर्न चाहन्थ्यौँ । एकदिन तपाईंलाई लाग्न सक्छ कि तपाईं रन बनाउन सक्नुहुन्छ तर यस्तै केही हुन्छ । भगवान् महान् छन् । यो अहिले र कहिल्यै पनि नहुने स्थिति हो । मैले भारतका लागि अन्तिम टी’२० खेल खेलेको हुँ ।’