काठमाडौं,११ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।
पूर्वप्रधानमन्त्री एवम् प्रतिपक्ष दलका नेता प्रचण्डले आज दिउँसो एक बजे प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ। आजको बैठकमा सांसद-मन्त्रीबीच पनि प्रश्नोत्तर कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्न समय माग गरेकाले आजको लागि तय भएको बताइएको छ। सचिवालयका अनुसार उनले विशेष समयमा सम्बोधन गर्ने छन् ।
प्रचण्डले पछिल्लो दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकारप्रति चर्को आलोचनाका साथै सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिइरहेका छन्। तर, पार्टीभित्र नेतृत्वको आलोचना भएपछि उनी आन्तरिक छलफलमा जुटिरहेका छन्।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डलाई पार्टीको नेतृत्व छाड्नुपर्ने प्रस्ताव गरेका थिए। माओवादीको स्थायी समिति बैठकमा लिखित प्रस्ताव राख्दै सम्बोधन गर्दै शर्माले पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएका थिए। अहिले सातै प्रदेशको बैठकमा पनि नेतृत्वको कार्यशैलीको विषयलाई लिएर बहस भएपछि संघर्षको मोडालिटी तय हुन सकेको छैन।