काठमाडौं,११ भदौ । बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष ०८०-०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ श्रमिकले ज्यान गुमाएका हुन् ।
यो तथ्यांक स्विकृति लिएर गएर मृत्यु भएका श्रमिकहरुको संख्यामात्रै हो । बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०-०८१ मा वर्ष सबैभन्दा धेरै विभिन्न रोग र विरामीका कारण श्रमिकको ज्यान गएको छ । जसअनुसार ३२१ जनाको विरामी र रोग लागेर भएको छ ।
गत एक वर्षमा हृदयघातबाट १९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १९२ जनाको आत्महत्या, १५७ जनाको प्राकृतिक मृत्यु, १५७ जनाको सडकमा दुर्घटनाबाट ज्यान गुमेको छ । त्यस्तै ९२ जनाको अन्य कारण र ४६ जना कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका छन् ।
बोर्डका निर्देशक टीकाराम ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्युदरमा यस वर्ष पनि कमी नआएको बताउँछन् । ‘रोजगारीको खोजीमा गएका श्रमिकले परदेशमा ज्यान गुमाउनु परिरहेको अवस्था फेरिएको छैन । यो वर्ष पनि मृत्युदरमा कमी आएन’, उनी भन्छन् ।
निर्देशक ढकालका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै मलेशिया र खाडी राष्ट्रहरुमा छन् । खाडीका राष्ट्रमा कतार, साउदी, यूएई, कुबेत, ओमनमा श्रमिकको मृत्युदर धेरै छ ।
वितेको एक वर्षमा ७ लाख ४१ हजार विदेश गएका थिए । जसमा ६ लाख ६१ हजार पुरुष र ८० हजार महिला थिए । वार्षिक करिब ७ लाख नेपाली वैदेशिक रोजगारमा जाने गरेका छन् ।
विदेशमा ज्यान गुमाए पनि श्रम स्वीकृति लिएर गएका श्रमिकका परिवारलेमात्र क्षतिपूर्ति पाउँछन् । श्रम स्वीकृति अवधिभित्र श्रमिकले ज्यान गुमाए बोर्डले ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ ।
बोर्डका अनुसार बितेको एक वर्षमा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई ६९ करोड ९९ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।