Logo
२४ असोज २०८१, बिहीबार

तीन दिनअघि फेसबुकले हटाएको मेयर बालेनको पोस्ट फिर्ता

अक्षरपाटी
२०८१ भदौ २१ , शुक्रबार ०५:०९ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र साहले लेखेको फेसबुक पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ ।

एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले लेखेको घरेलु बालश्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएकाले तीन दिनअघि हटाएको थियो । यद्यपि फेसबुकले आधिकारिक रुपमा केही उल्लेख गरेको भने थिएन ।

साहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध रोष प्रकट गरेका थिए । त्यसपछि साहका केही निकटस्थ र समर्थकले प्रधानमन्त्री ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए ।

सरकारले भने त्यो पोस्ट आफूले नहटाएको, बरु साह आफैंले हटाएको बताउँदै आएको थियो । ओली र साह दुवैले यसबारे औपचारिक रुपमा केही नभने पनि एमाले पार्टी पंक्ति र साहका समर्थकबीच फेसबुकमा आरोप प्रत्यारोप नै चलेको थियो ।

बालेन शाह