Logo
२४ पुस २०८१, बुधबार

ओलीको निर्देशन-जे भन्नु छ बैठकमा भनौँ, सडकमा कराउन पाइँदैन

अक्षरपाटी
२०८१ पुस २३ , मंगलबार ०५:०१ मा प्रकाशित

काठमाडौं। प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओ‌लीले पार्टीभित्रका असन्तुष्टि बैठक हलभित्रै राख्न आग्रह गरेका छन् ।

मंगलबार आठौं केन्द्रीय कमिटीको बैठकलाई समापन सम्बोधनका क्रममा अध्यक्ष ओलीले बाहिर गएर पार्टीविरुद्ध बोलेमा कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले तीन दिनको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले पार्टीभित्र कुनै मत-मतान्तर नरहेको बताएको पनि उल्लेख गरेका छन् ।

‘अध्यक्षले प्रष्ट भन्नु भएको छ, पार्टीभित्र विचारधारातम्क र संगठनात्मक कुनै गुट छैन । एमालेमा कुनै मतविभाजन छैन’, गौतमले भने, ‘पार्टीका कुरा बैठकमै निर्धक्का राख्न अध्यक्षले भन्नु भएको छ । सडकबाट गएर जनमत बनाउँछु भन्ने कुरा गलत हो, त्यो स्वीकारिँदेन भन्ने कुरा उहाँले राख्नु भएको छ ।’

‌ओलीले एमालेमा कोही-कसैको गुट नरहेको बताउँदै केन्द्रीय सदस्यहरूले यस्ता कुरामा अलमलमा पर्न नहुने पनि उल्लेख गरेका थिए ।

केपी शर्मा ओ‌ली नेकपा एमाले