Logo
१९ वैशाख २०८२, शुक्रबार

खुले सामुदायिक विद्यालय, नयाँ भर्ना पनि सुरु

अक्षरपाटी
२०८२ वैशाख १९ , शुक्रबार ०१:०५ मा प्रकाशित

काठमाडौं । एक महिने शिक्षक आन्दोलनपछि आजदेखि विद्यालय खुलेका छन् । बुधबार सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आजदेखि विद्यालय खुलेका हुन् ।

शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशैभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ । सामुदायिक विद्यालयमा ढिला गरी भर्ना सुरु भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ विद्यार्थीको भर्नामा प्रभावित भएको छ ।

१ वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु भएको थियो तर आन्दोलनका कारण १९ दिनपछि मात्र विद्यार्थी भर्ना अभियान सुरु भएको छ ।

१७ वैशाखमा सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएपछि शिक्षकहरु काठमाडौंबाट फर्किएका छन् । तर महासंघले सरकारसँग धोकापूर्ण सहमति गरेको भन्दै विद्यालय कर्मचारी परिषद्ले भने नयाँ आन्दोलन घोषणा गरेको छ ।

विद्यालय कर्मचारी परिषद्ले यही वैशाख २१ गतेदेखि जेठ तीन गतेसम्म कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, जेठ ४ गते ७ सय ५३ वटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएर आन्दोलनबारे जानकारी गराउने, जेठ ५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने जनाएको छ ।

त्यस्तै, जेठ ६ गते ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने, जेठ ७ गते ७ वटै प्रदेशमा आन्दोलनको जानकारी गराउने र ध्यानाकर्षण सहित सामाजिक विकास मन्त्रालयमा पत्र बुझाउने तथा जेठ १० गतेदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा सडक आन्दोलन शुरु गर्ने विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।