Logo
१ असोज २०८२, बुधबार

साहित्य सन्ध्यामा समाजवादको व्याख्या

अक्षरपाटी
२०८२ असार ७ , शनिबार १०:०६ मा प्रकाशित

काठमाडौं। साहित्य सन्ध्याको ४६४ औँ शृङ्खलामा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा परिचर्चा गरिएको छ।

शनिबार काठमाडौंको आरआर क्याम्पस, प्रदर्शनीमार्गमा कविगोष्ठीसहित साहित्य सन्ध्या सम्पन्न भएको हो।

सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता सम्पन्न भएको समारोहमा प्रमुख अतिथि प्रा.डा.हेमनाथ पौडेल थिए।

कार्यक्रममा युद्धप्रसाद मिश्र, स्मृति प्रतिष्ठानका अध्यक्ष डा फणीन्द्रराज निरौला, उपाध्यक्ष्य मदनबहादुर थापा, नियात्राकार पोष चापागाईँ, डा गोविन्दप्रसाद आचार्य, खेमराज निरौला, सुशीला प्रधानाङ्ग, डम्बर पहाडी, गायत्रीकुमार चापागाईँ, डा कृष्ण सुवेदी, रत्ननिधि रेग्मी, रत्न उप्रेती, त्रिलोचन आचार्य, साझा प्रकाशनकी सञ्चालक सदस्य जयन्ता पोखरेल, होम भट्टराई, ओमप्रसाद कोइराला, कात्यायनल, बैरागी जेठागायतको उपस्थिति थियो।

‘समाजवादको यात्रामा साहित्यको भूमिका’ विषयमा अत्यन्त विशद चर्चा गर्दै प्रमुख अतिथि प्रा.डा.हेमनाथ पौडेलले साहित्य सन्ध्याको यो लामो यात्रामा विविध समसामयिक विषयमा बहस तथा छलफल गरिरहेको बताए।

समकालीन साहित्य लेखनमा प्रतिध्रुवीय धार वा समानान्तर धार र समाजवादी धार क्रियाशील रहेकाको उनले बताए।

पुँजीवादी व्यवस्थालाई समाप्त पारी समतामूलक सिद्धान्तको अवलम्बनसहित कायम गरिने शासन व्यवस्था नै समाजवाद हो।

अहिले काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, लोकतान्त्रिक समाजवाद आदि आदि शब्दको प्रयोग भइरहेको पाइन्छ।

नेपालको एकीकरणको समयमा वीर धारामा साहित्य सिर्जना भएको; राणाकालसम्म निराशाका, भक्तिका सिर्जना भएका छन् भने निरङ्कुश शासन व्यवस्थाका विरुद्धमा सङ्घर्षका वा क्रान्तिका सिर्जना रचिएका चर्चा कार्यक्रममा गरिएको थियो।

साहित्य र राजनीतिको सम्बन्ध हुन्छ मात्र होइन साहित्यले समाजवादी यात्राका लागि सघाउने धारणा श्रष्ठाहरुले राखेका थिए।

अठारौँ शताब्दीमा पश्चिमा समुदायमा यथार्थवाद र आलोचनात्मक यथार्थवाद उल्लेख भएको देखिन्छ। समाजवादी यथार्थवादले भने इतिहास तथा वर्तमानलाई उजागर पनि गर्ने र भविष्यको आँकलनसमेत गर्ने कार्य गर्दछ, आदर्श समाजको परिकल्पना गर्दछ, यसले यथार्थको वर्णन मात्रलाई अपूर्ण मान्छ भन्ने मान्यता समाजवादी श्रष्ठाहरुले राखेका थिए।

सन १९०१ म गोर्कीको ‘आमा’ उपन्यास आएको र १९३४ मा समाजवादी यथार्थवादी उपन्यास भन्ने दृष्टिकोण प्रस्तुत गरिएको उनीहरुको भनाइ थियो ।

समाजवादी यथार्थवादको दार्शनिक पक्ष भनेको माक्र्सवादी दर्शन भएको श्रष्ठाहरुले स्मरण गरे।

१९१७ को अक्टुबर क्रान्ति वा बेलायत, फ्रान्समा भएका मजदुर आन्दोलन वा वर्गसङ्घर्षका आन्दोलन आदिले समाजवादी यथार्थवादको गोरेटोको काम गरेको दावी उनीहरुको छ।

यद्यपि इसापूर्व ३८५ मै प्लेटोले आफ्नो पुस्तकमा समाजवादको चर्चा गरेका छन् भने बेलायतका थोमस मोरले आदर्श राज्यको र विभेदको अन्त्यको काल्पनिक आदर्शवादी समाजको चर्चा गरेका छन्।

रुसोले समाजवादको स्पष्ट उल्लेख गरेका छन्। माक्र्सवादले भने समाजवादका सबै पक्षको चर्चा गरेका छन्।

नेपालको सन्दर्भमा वि.सं.२००६ सालमा कम्युनिस्ट पार्टीको गठन भएपछि २००८ सालमा कृष्णचन्द्रसिंह प्रधानले ‘भञ्ज्याङनिरै’ कवितासङ्ग्रहमा आफैँले साहित्य कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा भूमिका लेखेर समाजवादी यथार्थवादको प्रवेश गराएको मानिन्छ।

त्यस समयसम्म नेपालमा घटेका मकैपर्वलगायतका विभिन्न घटनाहरूले पृष्ठभूमिको काम गरेका छन्। सँगसँगै विभिन्न स्रष्टाका थुप्रै कृतिहरू पनि प्रकाशित भएका छन् ।

साहित्य र राजनीति एकअर्काका पूरकका रूपमा उभिएका छन् । २०१७ सालपछि पञ्चायतका विरुद्धका, २०४७ पछि र फेरि २०५२ पछि एउटा पक्ष सशस्त्र वर्गसङ्घर्षका पक्षमा देखियो भने अर्काे पक्ष शान्तिपूर्ण वर्गसङ्घर्षका पक्षमा उभिएको र यी दुबैको समान महत्त्व रहेको स्वीकार गरी दुइटैको संयुक्त प्रयत्नले लोकतान्त्रिक गणतन्त्रको स्थापना सम्भव भएको व्याख्या गरिन्छ।

तर हाम्रो शासनको वर्तमानको चरित्र उदारवादी रहेको छ । हाम्रो लेखन पनि आलोचनात्मक यथार्थवादभन्दा माथि नसकेको सहभागीहरुले बताएका थिए।

समारोहमा सञ्जय सोती, ओमप्रसाद कोइराला, कृष्णप्रसाद पौडेल, डम्बर पहाडी, खेमराज निरौला, रत्ननिधि रेग्मी, रामप्रसाद प्रसाईँ, कात्यायन, डा.हेमनाथ पौडेल, गायत्रीकुमार चापागाईँ, त्रिलोचन आचार्य, डा.कृष्ण सुवेदी (भारद्वाज मित्र), भावना न्यौपाने, रत्न उप्रेती, डा.मनोज जोशी, प्रशान्त खरेल, रुक्मिणी भट्ट, डा.गोविन्दप्रसाद आचार्य, रामकुमार पण्डित, कुमार नेपाल, बैरागी जेठा, बलराम विष्ट, लक्ष्मण तिमिल्सिना र सुशीला प्रधानाङ्गले आआप्mना कविता, गीत, गजल वाचन गरेका थिए।

ट्रेन्डिङ ( साप्ताहिक )