मेयर साम्पाङले जग्गा फिर्ताका लागि उठाएको विषयभन्दा ‘भाषा’को चर्चा

अक्षरपाटी
२०८२ साउन ७ , बुधबार ११:०७ मा प्रकाशित

काठमाडौं। एउटा माइकको भरमा एक्लै गल्ली र घरघरमा पुगेर हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए।

उनको मुल मुद्दा थियो-धरानबासीलाई जसरी पनि पानी खुवाउने । करोडौं बजेटमा पनि नबनेको खानेपानी योजना मेयर साम्पाङले कार्यकालको दुई वर्षमै श्रमदानबाटै पानी ल्याएर धरानबासीलाई खुवाउन सफल भए।

यद्यपि उनको सामाजिक सञ्जालमा लेख्ने भाषा, बोल्ने बोली र संगीतमार्फत दिने सन्देशको भने बेलाबेला चर्चा हुने गरेको छ।

एकपक्षले उनको बोली र भाषालाई लिएर टिप्पणीसमेत गर्ने गरेका छन् भने अर्कोपक्षले उनको यो मौलिक, ठेट र निजात्मक शैलीका रुपमा लिने गरेका छन्।

उसो त देशको सत्ता नै सम्हालिसकेका केही उच्च तहका नेताले आफूप्रतिकूलका नेताप्रति गर्ने टिप्पणीहरु निकै निम्नस्तरका हुनेगरेको अहिले पनि यत्रतत्र नपाइने होइन्। तर समाजको अगुवाइ गरेकाहरुबाट हल्का, उत्तेजित बनाउने वा घृणा फैलाउने भाषा अपेक्षित हुँदैन।

मेयर साम्पाङ धरानबासीलाई श्रमदानबाटै सक्दो सुविधा दिने योजनामा देखिन्छन्। उनले श्रमदानबाटै श्रम उद्यान, खानेपानी, वृक्षारोपण, सरसफाई, नाली निर्माण, तटबन्धनदेखि धेरै काम गरेर देखाएका छन्।

यहाँको जनताको स्वास्थ्य उपचारका लागि धरान उपमहानगरसँग आफ्नै अस्पताल छैन । स्वास्थ्य बीमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रेफरल सेन्टर मात्रै तोकेपछि धरान उपमहानगरपालिकामा आफ्नै अस्पताल निर्माणको बहस सुरु भएको हो।

त्यसका लागि नगरप्रमुख हर्क साम्पाङले नगर अस्पताल निर्माणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चर्चेको जग्गा फिर्ता गरिदिन माग गर्दै संघीय स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेका हुन्।

उनले सो पत्रमा उक्त जग्गा प्रतिष्ठानले सुटुक्क लगेको भन्दै फिर्ताका लागि मन्त्रालयलाई आग्रह गरेका छन्।

तिष्ठानले विधि र प्रकृया पुर्याएर जग्गा नामसारी भएको दाबी गरे पनि नगरप्रमुख साम्पाङले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मोरङ र प्रतिष्ठानलाई बोधार्थसहित लेखेको पत्रमा कसैले दलालीमा भुलेर बीपी अस्पताललाई दिई पठाएको भनेका छन्।

उनले उपमहानगरले आफ्नै नगर अस्पताल बनाउन चाहेको जनाउँदै अनौपचारिक र ठेट शैलीमा भनेका छन्, ‘छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिं कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिई पठाएछ थाहा भएन, यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनुहोला । धन्यवाद।’

उनले उपमहानगरको लेटरहेडमा लेखेको पत्रको ‘कुलङ्घार’ शब्दमाथि भने बहस भएको छ। उक्त शब्द ‘अमर्यादित’ भएको भन्दै सामाजिक सञ्जालमा आपत्ति जनाउने एकातिर देखिएका छन् भने धेरैले ठेट र अनौपचारिक शब्द भनेका छन्।

मेयर साम्पाङ जनताको पक्षमा काम गर्न दत्तचित्त भएकाले बेइमानी गर्नेमाथि आफ्नो ठेट भाषा प्रयोग गर्नु धेरै ठूलो विषय नभएको रुपमा पनि धेरैले अर्थ्याएका छन्। यद्यपि सरकारी कागजातमा आक्रोस जनाउने शब्द प्रयोग नगरिएकै भए राम्रो देखिने तर्कलाई भने नकार्न सकिँदैन।

तर उक्त शब्दमाथि जति बहस देखिएको छ, त्योभन्दा महत्वपूर्ण जग्गा ‘दलाली’ भयो/भएन? उपमहानगरका लागि अस्पताल कति अपरिहार्य हो ? र मेयर साम्पाङको अस्पताल निर्माण गर्ने योजना कति उचित र जनपक्षीय छ ? भन्ने विषयमा भने उठान भएको देखिँदैन।

धरान उपमहानगरपालिका हर्क साम्पाङ