काठमाडौं। समृद्ध समाज होस, या देश निर्माणका लागि सार्थक नीति चाहिन्छ । नीतिमाथि पनि मन्थन र सम्वाद जरुरी छ । यही सत्य आत्मसाथ गरेर चैतन्य एकेडेमीले विगत १२ वर्षदेखि गर्दै आएको नीति सम्मेलनको १३ औँ श्रृङ्खला आयोजना गर्दैछ ।
१३ औं चैतन्य नीति सम्मेलनमको नाम दिइएको छ ‘नीतिदेखि सम्वृद्धिसम्म : राष्ट्र निर्माणको सार्थक यात्रा’ । सम्मेलनको शिर्षकबारे चैतन्य ग्रुपका सिईओ गणेश जोशी भन्छन्, ‘समृद्धि तब सम्भव हुन्छ, जब नीति सबल हुन्छ । सबल नीतिले सम्वृद्ध देश बनाउन सम्भव छ । समृद्ध देशबाट नै बलियो राष्ट्रको कल्पना सम्भव छ ।’
भदौ २७ र २८ गते धुलिखेलको हिमालय दृश्य रिसोर्टमा आयोजना हुने नीति सम्मेलनले संवादका माध्यमबाट देशको समसामयिक प्राथमिकता र दीर्घकालीन सम्भावनालाई उजागर गर्न अहम् भूमिका खेल्ने आयोजनकको विश्वास छ ।
वर्तमान नेपालमा राजनीतिक स्थायित्व, आर्थिक पुनरुत्थान, सामाजिक समावेशिता, शिक्षामा रूपान्तरण, सुशासनको सवल अभ्यास र आधुनिक प्रविधिको प्रयोग जस्ता विषयमा सम्मेलनमा दिग्गज र प्रवुद्ध व्यक्तित्वद्वारा गहिरो मन्थन गरिने सिईओ जोशीले जानकारी दिए।
राष्ट्र निर्माणका विविध आयामहरूमाथि केन्द्रित यो सम्मेलन सम्बद्ध नीति–निर्माण, सम्वाद र सामूहिक समाधानतर्फ मार्ग प्रशस्त गर्ने अपेक्षा राखिएको छ ।
सम्मेलनमा राजनीति, अर्थनीति, शिक्षा, संस्कार, समाजशास्त्र, मानवीय चेता, योग, ध्यान, अध्यात्म, कला, साहित्य, संस्कृति, साशन, सेवाप्रवाह, विकास र जलविद्युतमात्र नभएर परराष्ट्र नीतिमाथि समेत मन्थन र चिन्तन गरिने छ ।
यसका लागि सम्मेलनमा नीति निर्माण, कार्यान्वयन र विश्लेषण क्षेत्रका वरिष्ठ विज्ञ, अनुसन्धानकर्ता, शिक्षक, प्रशासक, राजनीतिज्ञ, विचारक तथा समाजसेवीहरूको सहभागिता रहने आयोजकले आज गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
नीति सम्मेलनमा वर्तमान समस्या र समाधानमूलक चिन्तन लाई प्राथमिकता दिइने छ । युवा, महिला, मधेस, जनजाति, सिमान्तकृत क्षेत्रका आवाजलाई नीतिगत विमर्शमा स्थान दिइने र सम्भावना, आशा र सकारात्मकताको संचारलाई मूल मर्मका रूपमा समेटिन आयोजनकले जनाएको छ ।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा एक दर्जन सेसन हुनेछन् । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गर्ने नीति सम्मेलनमा स्वस्ति वाचन आँचल बसलेलले गर्ने कार्यक्रम छ । कार्यक्रमका प्रमुख वक्ता प्राडा अच्युतप्रसाद वाग्ले रहने छन् ।
विभिन्न सेसनमा अर्थविज्ञ, नीति निर्माता, राजनीतिज्ञ समाजसेवी, अध्यात्म अध्ययता, शिक्षाविद्, विचारक, पत्रकार र वौद्धिक व्यक्तित्वको सहभागिता रहने सिईओ जोशीले बताए।
गणेश जोशी चैतन्य एकेडेमी