Logo
१ कात्तिक २०८२, शुक्रबार

वडाध्यक्षको प्रश्नमा मेयर बालेनको जवाफ: महानगरको भवन तिहारपछि, तर म तिहार छिटो सकिन भन्छु

अक्षरपाटी
२०८२ कात्तिक १ , शुक्रबार ०२:१० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरको भवन बनाउनेबारे गरेको प्रश्नमा तिहारलाई छिटो सकिन भन्छु भन्ने जबाफ दिएका छन्।

शुक्रबार बसेको ४३ औं कार्यपालिका बैठकमा सुशासन समितिका संयोजन ख्यामराज तिवारीले अस्पताल बनाउन स्काउटको जग्गा भाडामा लिने प्रस्ताव पेस गरेका थिए। सो कुरामा असहमति जनाउँदै वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले आफ्नो धारणा राखेपछि मेयर बालेनले उक्त जबाफ दिएका हुन्।

वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले जनताको करबाट भाडा तिर्दै बसिरहेको हुँदा महानगरले आफ्नो कार्यालय छिटो बनाउनुपर्ने धारणा राखेका थिए।

‘महानगरले आफ्नो भवन बनाउन सकेको छैन। नगर प्रहरीदेखि सबै ठाउँमा सधैं भाडा तिरेर बसेको छ,’ उनले भने, ‘खाली काल्पनिक कुरा गरेर हुँदैन। आफ्नो घर नबनाई अस्पताल बनाउँछु भनेर लागिपरेर हुन्छ र ? पहिला आफ्नो घर बनाऔं अनि बल्ल अर्को कुरा गरौं।’

सोही क्रममा तिवारीले महानगरको अस्पताल निर्माणको गर्नको लागि स्काउटको जग्गा भाडामा लिने सम्झौता भएको स्पष्ट पारेका थिए।

तर तण्डुवारले महानगरले अस्पताल बनाउनभन्दा पनि हाल महानगरको आफ्नो भवन छिटो बनाउनमा जोड दिनुपर्ने बताए। र स्काउटको जग्गा पनि विवादास्पद रहेको र मुद्दा विचाराधीन अवस्थामा रहेको उनले स्मरण गराएका थिए।

मेयर बालेनले महानगरको भवनको निर्माण कार्य तिहारपछि सुरू हुने जानकारी दिएका थिए। तण्डुकारले सधै आश्वासन दिएको तर काम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

तिहारपछि सुरू हुन्छ भनिसकेपछि के तपाईंले नबनोस् भन्न खोज्नु भएको हो ? बालेनले प्रश्न गर्दै तण्डुकारलाई भने। छिटोछिटो गर्नुपर्‍यो भन्ने तण्डुकारको जबाफमा बालेनले तिहार छिट्टै सकिन भन्छु भनेर जबाफ दिएका थिए।

‘१० दिनको तिहार मैले आज कसरी सकाइदिने त ?,’ बालेनले भने, ‘तिहारलाई चाँडो सक्किनु भन्छु म।’

काठमाडौं महानगरपालिका