धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले चालू केन्द्रीय समिति समक्ष वर्तमान विषम परिस्थितिमा जिम्मेवार पदाधिकारीका तर्फबाट १५औं महाधिवेशनको कार्यतालिका नआउनु दुखद् भएको बताएका छन्।
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले समयमै महाधिवेशनको कार्यतालिका नआउँदा पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने चिन्ता व्यक्त गर्दै उक्त कुरा बताएका हुन्।
कांग्रेस विधानअनुसार पदाधिकारीहरूको कार्यविभाजन भएको तर समयमै आआफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुनौति देखिएको उनले औंल्याएका छन्।
‘निर्वाचन सम्पन्न गर्न पहिलो विषय नै क्रियाशिल सदस्यता नवीकरण, वितरण र व्यवस्थापन भएकाले आजसम्म उक्त कार्य सम्पन्न गर्न नसक्दा महाधिवेशन समयमै नहुनेहोकि भन्ने संसय पैदा भएको छ। त्यसैले अब महाधिवेशनको मिति तय गर्न ढिला गर्नु हुँदैन’, उनले भने।
सामाजिक सञ्जालमा भन्दा पनि आधिकारिक रुपमा जिम्मेवार पदाधिकारीका तर्फबाट महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा एथासक्य चाँडो आउनु पर्ने उनले बताए।
यस्तै उनले कांग्रेसले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका छन्। जेनजीको माग सम्बोधन हुने गरी कांग्रेसले नेतृत्व पुस्तान्तरण गर्नुपर्ने बताएका हुन्।
‘हामी नेतृत्व लिन सक्षम छौं।
कांग्रेसको राम्रो उत्तराधिकारी बन्न हामी सवल छौं। हामी कांग्रेसको शीष नेतृत्व सम्हाल्न सक्छौं। हामी सांसद, मन्त्री र प्रधानमन्त्री बनेर देश हाक्न सक्ने क्षमता विस्तार गरिसकेका छौं,’ उनले भने।
त्यसका लागि कांग्रेसले जनतामाझ परीक्षण हुन बाँकि र सक्षम युवा नेताहरुलाई अवसर दिने बेला आएको र जेनजीहरूको माग पनि यही रहेको उनको धारणा छ।
‘तीन पटक सांसद र मन्त्री भइसकेकाहरू, पूर्व र वर्तमान पदाधिकारीहरु, सरकार सञ्चालनको संयन्त्रमा बसेकाहरु र केपी शर्मा ओलीको नेतृत्वमा बसेकाहरुले एक पटक कुलिङमा बस्नुपर्छ,’ उनले भने।
कांग्रेसमा अवसरको न्योचित वितरण भएन भन्ने ठूलो असन्तुष्टि रहेकाले त्यसलाई पार्टीले सम्बोधन गर्न सक्नु पर्ने उनले बताए।
‘हामी ११ जना केन्द्रीय सदस्यले पहिले नै गठबन्धनको सरकार निर्माण गर्नु हुँदैन भनेर कांग्रेस बैठकमा फरक कुरा राखेका थियौं। माओवादीसँगको गठबन्धन लामो जान्छ भन्ने प्रस्ताव पदाधिकारी तहबाटै आएको थियो।
तर, गठबन्धन लामो समय जान सकेन। यस्ता विषयको आकलन गर्न नसक्नु पनि नेतृत्वको कमजोरी हो,’ उनले भने। यस्ता परिस्थितिको नेतृत्वले बेलैमा आकल गर्न सक्नु पर्ने उनले बताए।
महरले देश र कांग्रेस बनाउने हुटहुटी नेतृत्वमा नपुगिकन कार्यान्वयन गर्न सहज नहुने भएकाले आफू त्यसका लागि सक्षम र तयार रहेको बताएका छन्। ‘म पार्टीभित्रको जुनसुकै जिम्मेवारीका लागि पनि तयार र सक्षम छु,’ उनले भने।
सुदूरपश्चिमका लागि तपाईं देउवाको अबको उत्तराधिकारी हो भन्ने पत्रकारको प्रश्नमा महरले भने, ‘म त्यसका लागि सक्षम छु। मैले आफु भन्दा सिनियर सबैको सहयोग र सदभाव पाउने अपेक्षा पनि गरेको छु। शिर्ष नेतृत्वको सम्मान गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजाने क्षमता विस्तार हामीले गरिसकेका छौं।’