Logo
५ कात्तिक २०८२, मंगलबार

महाकाली किनारमा विपिन जोशीको अन्तिम विदाई

अक्षरपाटी
२०८२ कात्तिक ५ , मंगलबार ०९:१० मा प्रकाशित

धनगढी । प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज अन्तिम संस्कार गरिएको छ।

गृहनगरको महाकाली नदी किनारको आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।

सोमबार साँझ लक्ष्मी पूजाको दिन कफिनमा घर पुगेका कञ्चनपुरको भीमदत्त नगरपालिका ३ बिचपुरी टोलका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्तिम संस्कार गरिएकाे हो।

सोमबार शव त्रिभुवन विमानस्थल आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्की, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, मुख्यसचिव एकनारायण अर्यालसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूले विपिनलाई श्रद्धाञ्जलि दिएका थिए।

प्यालेस्टिनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको अन्तिम संस्कार गृहनगरमै गरिएको विपिनका दाइ किशोरले बताए।

विपिनको शव नेपाली सेनाको टोलीले राष्ट्रिय सम्मानसहित परिवारलाई हस्तान्तरण गरेको थियो। आज अन्तिम सँस्कारका का क्रममा विशाल शव यात्रा भएको थियाे। दुई वर्षको प्रतिक्षापछि उनको शव यात्राले आम नेपाली शाेकमग्न बनेका छन्।

सोमबार साँझै सेनाको स्काई ट्रक मार्फत जोशीको शव धनगढी विमानस्थलमा पुगाइएको थियो।

त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमा शव घर सम्म पुगाइएको थियो । विपिनको शव दुई वर्षपछि घरमा पुगेको हो ।

विपिनको शव घरमा पुगेपछि नेपालका लागि इजरायली राजदूत स्मुलिक एराई बास दूतावासका कर्मचारीसहित घरमा पुगेका छन् । उनले परिवारका सदस्यहरूसँग भेट गरेका छन्।

विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा उल्लेख गरिएको छ।

इजरायलको ‘द नेसनल सेन्टर आफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । तर कुन समयमा भन्ने उल्लेख छैन ।

विपिनको मृत्युको कारणमा भने इजरायल र हमासले एक अर्कालाई आरोप लगाएका छन् ।

इजरायली सेनाको हवाई आक्रमणमा परी विपिन मारिएको हमासको दाबी छ भने इजरायलले हमासले हत्या गरेको दाबी गरेको छ ।

हमासले २५१ जना बन्धक बनाएर लगेको थियो । तीमध्ये इजरायलले ३३ जना बन्धकको शव पाएको थियो ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका ४९ जना विद्यार्थीहरू दुई वर्षअघि ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए ।

अन्तिम सँस्कार विपिन जोशी