
० धन बस्नेत/पोखरा
१७ महिनापछि पोखरा महानगर खेलकुद विकास समितिले नेतृत्व पाएको छ।
महानगर खेलकुद विकास समितिको नेतृत्व दोस्रोपटक दीपकबहादु गोदारले सम्हालेका हुन्। उनलाई दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चुनिएको हो।
उनलाई एक महिना अघि नै अध्यक्षमा पुनः नियुक्त गर्ने महानगरको निर्णय ढिलोगरि सार्वजनिक भएको हो।
दुई दिन अघिमात्रै प्याब्सन, एन प्याब्सन, हिसानसँगको औपचारिक छलफलमा खेलकुद विकास समितिका अध्यक्ष गोदारले अध्यक्षता गरेका थिए ।
आज पोखरा १३ आर्बामा आयोजित तेस्रो एन्ड्युरो माउण्टेन बाईक रेसमा गोदारलाई औपचारिकता प्रदान गरिएको हो।
गोदारको दोस्रो कार्यकाल तीन वर्षको हुनेछ । पोखरा महानगरपालिकाका निर्बतमान प्रमुख मानबहादुर जिसीले गोदारलाई खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरेका थिए।
तीन वर्षे कार्यकाल सकिएपछि महानगर खेलकुद विकास समिति नेतृत्वविहीन भएको थियो। १७ महिनाको रस्साकस्सीपछि नगरप्रमुख धनराज आचार्यले खेलकुद विकास समितिको जिम्मेवारी गोदारलाई दिदैं कार्यसमितिलाई पूर्णता दिएका हुन् ।
नवनियुक्त अध्यक्ष गोदारले पोखरामा मंसिरको पहिलो साता राष्ट्रपति रनिङशिल्डबाट आफनो कार्ययोजना शुरु गर्ने जनाएका छन्। त्यसपछि कार्यसमितिको पूर्ण बैठक बसेर कार्ययोजना बनाउने उनले बताए।
पोखरामा विशेषगरि विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई प्राथमिकता दिने उनले उल्लेख गरे।
उनले महानगर खेलकुद विकास समितिले गठन गरेका खेल संघहरुलाई आवश्यकताअनुसार पुर्नगठन गर्ने बताए। गठित खेल संघलाई सक्रिय बनाउँदै खेलकुदका गतिविधि अगाडि बढाउने उनको योजना छ।
तीन वर्षको कार्यकालमा गण्डकी प्रदेशकै नमूना बनाउने उनले प्रतिबद्धता जनाए।
गोदारकै नेतृत्व र सक्रियतामा गण्डकी प्रदेश तीनपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा (छैटौं, सातौं, आठौं) मा कराँते तर्फ च्याम्पियन बनेको थियो।
आफै पनि च्याम्पियन
उनी आफै पनि एक समयका कराँतेका च्याम्पियन हुन्। उनले कराँतेमा गरेको योगदान र प्रशिक्षणकै कारण नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले आयोजना गरेको पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट प्रशिक्षकबाट समेत सम्मानित भइसकेका छन्।
मुवाथाईका प्रमुख प्रशिक्षक
उनले ३५ वर्ष लामो खेलजीवन नै बिताइसकेका छन्। जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष समेत रहेका गोदार नेपाल मुआथाईका प्रमुख प्रशिक्षक समेत हुन्।
उनकै पहलमा नेपालमा मुआथाई खेल भित्रिएको थियो। पोखराबाट मुआथाई खेलको शुरुवात भएको थियो। पृष्ठभूमि कराँते खेलमा भएपनि गोदार अहिले मुआथाई प्रशिक्षण गराउँदै आएका छन्।
गोदारको खेलकुद यात्रा
मेहनत र लगनशिलताले मात्रै खेलाडीले आफनो गन्तव्य बनाउँछ। पदकको आशा गर्छ। अनि अन्तिममा प्रशिक्षण गर्ने लक्ष्य पछ्याउँछ।
विना मेहनत खेलाडीले आफनो अस्तित्व जोगाउन सक्दैन्। पलायनको यात्रा सुरु हुन्छ। निरन्तरताको मेहनत र लगानीले मात्रै प्रतिफल पाईन्छ भन्ने बुझेका गोदार यसको उदाहरण हुन्।
स्कुले जीवनबाट मार्शल आर्ट तर्फ आर्कषित गोदार उमेर ढल्कँदै गएपछि प्रशिक्षणमा सक्रिय छन्। यद्यपि उनमा युवा जोश र जाँगर भने जवान खेलाडीको भन्दा कम छैन। जुन प्रशिक्षणको दौरानमा प्रष्ट देखिन्छ।
१४ वर्षकै उमेरबाट उनी खेलकुद क्षेत्रमा होमिएका हुन्। त्यसमा पनि बक्सिङ। टिभीमा बक्सिङ खेल हेर्न पाइएपछि उनको मन पनि बक्सिङमै ढल्कियो। प्रेरणाको स्रोत बने सुरेश मल्ल र गणेशबहादुर भट्टराई। दुवै बक्सिङका साफ मेडलिष्ट समेत हुन्।
उनीहरुकै अनुसरण गर्दै बक्सिङ खेल्न थालेका गोदारले कालान्तरमा मुवाथाईलाई आफनो खेलकुद जीवनलाई चलायमान बनाउने माध्यम बनाइरहेका छन्।
कलिलै उमेरमा खासै सोच्नसक्ने अवस्था पनि थिएन्। अरुले खेलेको देखेर बक्सिङमा छिरेका गोदार तीन वर्षपछि कराँतेमा रुमलिए।
‘खेल्दा रगत आउँथ्यो। घरपरिवारको गाली खाइन्थ्यो। तर पनि खेलप्रतिको अभिरुचीले तगारो भने हालेन्,’ उनले विगतलाई सम्झिए, ‘स्कुलै हापेर भएपनि खेल्न गइन्थ्यो।’
२०५२ सालमा कराँते त्यसमा पनि फुल कन्ट्याक्टमा झोसिए। कमाई थिएन्। परिवारको साथ थिएन्। त्यसैबेला काम लाग्यो साथीभाइ।
झिसमिसेमा पोखरा रंगशाला छिर्यो। त्यसबेला अहिलेजस्तो थिएन, सबै ठाँउ खुल्ला थियो। पुरानो भवनको बरण्डामा कराँते प्रशिक्षण हुन्थ्यो। त्यही गएर उनी आवद्ध भए।
अरुले तिरिदिए कराँतेको शुल्क
कराँतेको प्रशिक्षण निशुल्क थिएन। पोशाक किन्नुपर्ने समस्या बेग्लै। पैसा नहुदाँ उनलाई कराँते खेल्न जोस्याएका थिए हिमाल खड्काले। उनै खड्काले कराँते प्रशिक्षण्का लागि लाग्ने शुल्क तिरिदिए।
त्यतिबेला लाग्यो सबैभन्दा ठूलो गुन नै उनले लगाए। ‘फि तिर्ने पैसा थिएन् । हिमाल खड्काले पैसा तिरिदिएपछि खेल्न थालियो,’ उनी कराँते खेल्दाका तीँ दिन सम्झन्छन्।
समय एकैनास सँधै हुँदैन। यो कुरा उनको जीवनमा पनि लागु भयो । हिजोका दिनमा खेल्न जाँदा खेल्दा रगत आउने, हात खुट्ट सुन्निने हुदाँ परिवारले खेल्न रोक लगाउँथे। समय बित्दै गएपछि घरभित्र पदक र ट्रफी छिर्न थाले।
त्यसपछि परिवारको पनि सहयोग हुँदै गयो । परिवारको सहयोग पाएपछि उनले आफ्नो भित्रैदेखिको खेलकुदप्रतिको चाहनालाई चंगासरी आकाशमा उडाउने अवसर पाए। त्यसपछि उनको खेलकुद रफ्ता निकै अगाडि बढ्यो।
पहिलो सहभागितामै स्वर्ण
एकपछि अर्को पदक घर भित्र्याए। परिवारको साथ । लुरे, बाँसजस्तो सिठ्ठा ज्यान। २०५६ सालमा आइपुग्दा उनले बल्ल जिल्लास्तरीय कराँतेमा आफूलाई एरिनामा उभ्याए।
पहिलो सहभागितामै स्वर्ण पदक जितेपछि उनको मन फुरुङ्ग बन्यो। जोश जाँगर र हौसला एकैसाथ शीरमाथि आइपुग्यो। धरानमा आयोजित कराँते फष्ट च्याम्पियनसिपमा समेत उनकै नाममा स्वर्ण लेखियो।
अल नेपाल हेभिवेट कराँते च्याम्पियनसिपमा दोस्रो पदकमै चिक्त बुझाए। उमेरमा उनले ५१ वटा जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेले। जसमा ३२ पदक जिते। ५४ केजी तौल समूहको ठिटोले १०५ केजी तौलको हेभिवेटसँग भिड्न उनलाई खासै डर लागेन्। आँट र दृढ विश्वासले उनलाई आफनो प्रतिस्पर्धीलाई अब्बल रुपमा प्रस्तुत गरिरहे।
बक्सिङको पृष्ठभूमि र कराँतेको बर्तमान सिकाई र भोगाइले उनलाई मुवाथाई पनि अग्रसरता देखायो। उनी २०६१ सालमा मुवाथाईतर्फ केन्द्रीत भए।
त्यसको एकवर्षपछि राष्ट्रिय खेलकुद परिषदले दिएको एनएस टे«निङ कराँतेबाट लिए। त्यसलगत्तै उनी मुवाथाईको प्रशिक्षक बन्ने अभिलाषामा थाईल्याण्ड हिँडे। थाईल्याण्डमा ४५ दिने तालिमपछि मुवाथाई किक बक्सिङको सी लाईसेन्स प्राप्त प्रशिक्षकको रुपमा दरिए।
पहिलोमध्येका मुवाथाई प्रशिक्षक
उनी नेपालकै पहिलो मध्येका मुवाथाई प्रशिक्षक बन्न सफल भए। थाईल्याण्डमा मात्रै उनले दोस्रो पटक १५ र तेस्रो पटक १० दिन प्रशिक्षण लिएर फर्किए।
थाईल्याण्डको प्रशिक्षणपछि केहीसमय आफैंपनि प्रतिस्पर्धी बन्दै एरिनामा उभिए। भारतको बैंगलोरमा खेल्न पुगे। एशियन मुवाथाई च्याम्पियनसिप खेल्न थाईल्याण्ड हानिए।
अघिल्लो दुईपटक सहभागितामा सीमित भएका गोदार दिल्लीमा भने विश्व किक बक्सिङ च्याम्पियनसिपमा स्वर्णपदक हात पार्न सफल भए। उत्तरार्धतर्फ लम्कँदै गएको खेल जीवनमा उनी निरन्तर मुवाथाईको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आइरहेका छन्।
अब्बल प्रशिक्षार्थी
उनैले प्रशिक्षण गरेको खेलाडी कुमार थापा कोरियामा आयोजित किकबक्सिङ च्याम्पियनसिपमा दोस्रो पदक जित्दै नेपालको गरिमालाई उच्च बनाए।
टर्कीबाट मुवाथाई किक बक्सिङको बी लाइसेन्स लिएर फर्किएपछि पूर्ण रुपमा प्रशिक्षणकै भूमिकामा रहँदै आएको छन्।
श्रीमतीको अनन्य साथ
पुरुषको सफलतामा नारीको हात हुन्छ भनिन्छ । उनको जीवनमा पनि यो कुरा लागु भयो। श्रीमतीको साथ र सहयोगले गोदार अहिले घरपरिवार भन्दा पनि खेलकुदलाई बढी ध्यान दिन्छन्। परिवार श्रीमतीले सम्हाल्दिने र आफू विभिन्न ठाँउमा हुने प्रशिक्षणमा होमिने उनको दिनचर्या बनेको छ।
सिक्दा र सिकाउँदा धेरै अन्तर छ। हिजो बक्सिङ, कराँते सिक्दा झरी बादल ओत लाग्ने भन्ने नै हुँदैन थियो। ध्यान केवल सिक्नमै हुन्थ्यो।
आवश्यक खेल सामग्रीकै अभाव भएपछि प्रशिक्षण गर्नुपर्छ भन्ने भावना मात्रै थियो।
‘हिजो सिक्ने बेलामा खेलकुदको सामग्री पर्याप्त थिएन्,’ उनी सम्झिन्छन्, ‘अहिले साथीभाइले सहयोग गर्दै आएका छन्। सामानको अभावले प्रशिक्षण रोक्ने अवस्था छैन्।’
झाडीमा शौच गर्नुपर्ने, घरबाटै पानीको व्यवस्थापन गर्नुपर्ने हुन्थ्यो। तर अहिले खेलाडीलाई त्यस्तो कठिन परिस्थिति छैन्।
खेलाडी हुदाँको पीडाको अनुभव उनीसँग छ। अहिले कास्की जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दाको अनुभव पनि छ।
‘तर फरक मात्रै के हो भने हिजो खेलाडीले अभावै अभावमा खेल्नुपर्ने बाध्यता थियो। त्यो अहिले छैन्,’ प्रशिक्षणको लागि पर्याप्त पुर्वाधार त अहिले पनि छैन तरपनि भएको हललाई सबैले आलोपालो गर्दै प्रशिक्षण गराउँदै आएका छौँ।ु
त्यसबेला आन्तरिक स्रोत हुँदैन थियो। अहिले आन्तरिक स्रोत भएकै कारण खेलाडीलाई खेल्न जाँदा डाइटको व्यवस्था, टिकटको व्यवस्था समेत गर्न सकिएको छ।
जिम्मेवारी पदमा आएपछि खेलाडीको मर्कालाई आफ्नै पुराना दिनको मर्का सम्झँदै गोदार सकेको व्यवस्था गर्छन। खेलाडीको मर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावनालाई कार्यालय प्रमुख प्रकाश बरालले समेत सहयोग गर्दै आएको उनी सुनाउँछन्।
उनको खेल जीवनमा आफनै भिनाजुले गरेको योगदान पनि उनी सम्झन्छन्। भिनाजु विष्णु कार्कीले काठमाडौंमा हुने प्रतिस्पर्धामा सहभागी हुनुपर्ने अवस्थामा आर्थिक सहयोग जुटाएर बस चढाउँदै पढाएको उनी बिर्सनन सक्दैनन्। त्यो गुन पनि खेल जीवनमा निकै प्रेरणाकै रुपमा रहेको उनले सम्झेका छन्।
आर्थिक अभावले विदेश खेल्न नपाएको पीडा
आर्थिक अभावकै कारण विदेशमा खेल्न जान नपाएको पीडा उनीसँग अझै ताजै छ। पाकिस्तानको कराँतेमा एशियन क्योकुशिन कराँते च्याम्पियनमा खेल्न पाउनु नै ठूलो कुरो थियो।
तर पैसाकै अभावले उनी रोकिए। त्यस्तो पीडा भने अहिले खेलाडीसँग छैन्। सबैले सहयोग जुटाउँछन् । जिल्ला खेलकुद विकास समितिले पनि आफनो दायित्व बोध गर्दै खेलाडीलाई सहयोग जुटाउँदै आएको उनी बताउँछन्।
महानगरपालिकाले पनि सहयोग गर्ने गरेको छ। मिलन फाउण्डेशन र आफनै चेला विवेक कार्कीले पहिलोपटक मुवाथाईको खेल सामग्री सहयोग गरेका थिए।
मनभरी पीडा र चोट भएपनि प्रशिक्षकको एउटै लक्ष्य हुन्छ खेलाडी उत्पादन गर्ने। कराँतेको प्रशिक्षणको दौरानमा कराँते खेलाडी झरना गुरुङलाई उत्कृष्ठ खेलाडीको रुपमा उनले नै उदय गराए ।
यद्यपि झरनाले पछिल्लो एक दशकयता उसु खेल्दै देशको लागि पदक समेत जितिसकेकी छिन्। गुरुङ अहिले उसुको सहायक प्रशिक्षक समेत हुन्।
नवराज गुरुङ उनको मुवाथाई किक बक्सिङका राम्रा र अनुशासिशत चेला हुन्। जसले तुर्किमिस्तानमा समेत सहभागिता जनाई फर्किएका थिए। हुन त उनका अन्य चेला नभएका होइनन्। अहिले पनि नियमित प्रशिक्षण गराएर चेला उत्पादनकै यात्रामा छन्।
विदेशबाट आउँछन् प्रशिक्षार्थी
स्वेदशी मात्रै नभई विदेशी खेलाडी पनि मुवाथाई सिक्न उनको नामै लिएर पोखरा रंगशाला आउने गरेका छन्। खेलकुदकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उनको ध्येय छ।
आँट र आफूभित्रको दृढ संकल्पले उनलाई अहिलेको अवस्थासम्म पुर्याएको उनी ठान्छन्।
भन्छन, ‘आफूसँगै खेलेका साथीभाइ सिंगापुरे र ब्रिटिस आर्मीमा भर्ती हुँदै लाहुरे भए। मैले जीवनको उर्जाशील समय खेलकुदमै लागेर विताएँ। त्यही प्रशिक्षण नै आम्दानीको स्रोत बन्न पुग्यो। म खेलकुदकै माध्यमबाट नेपाललाई चिनाउँदै खेलाडी उत्पादनमा अहोरात्र खटिने सिपाहीकै रुपमा यो जीवन समर्पित गर्न चाहन्छु।’
दीपकबहादु गोदार


