Logo
२२ मंसीर २०८२, सोमबार

सहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुटसल प्रतियोगिता हुने

अक्षरपाटी
२०८२ मंसीर १ , सोमबार ०४:११ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीमा सहिद गौरव जोशीको सम्झनामा सहिद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुटसल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ।

स्टार सिटी युवा क्लबको आयोजनामा जेनजी आन्दोलनका सहिद गौरव जोशीलाई स्मरण गर्दै आगामी मंसिर १० र ११ गते फुटसल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकले सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ।

पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष नरेन्द्र शाहले प्रतियोगिता पहिलो संस्करण भए पनि यसलाई नियमित कार्यक्रमका रूपमा अघि बढाइने बताए।
उनका अनुसार प्रतियोगिताको प्रथम पुरस्कार १ लाख रुपैयाँ र द्वितीय पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ। साथै टिम दर्ता शुल्क ५ हजार ५ सय रुपैयाँ तोकिएको जानकारी दिए।

अध्यक्ष शाहका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवालाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्नु र विभिन्न सामाजिक कुलतबाट टाढा राख्दै खेलकुदमार्फत अनुशासन र स्वास्थ्यप्रति सचेतना बढाउनु रहेको छ।

कार्यक्रममा सहिद गौरव जोशीका बुवा वासुदेव जोशीले आफ्नो छोरा अब ‘देशकै छोरा’ बनेको उल्लेख गर्दै यस्ता प्रतिस्पर्धाले छोराको सम्झना जोगिन मद्दत पुग्ने बताए।

प्रतियोगिताको प्रवद्र्धक धनगढी उपमहानगरपालिका–५ वडा कार्यालय रहेको छ भने मुख्य प्रायोजक निसर्ग अस्पताल प्रालि रहेको आयोजकले जनाएको छ।