
धनगढी। धनगढीमा चैतन्य पाठशाला-प्याब्सन कैलाली क्रिकेट कप–२०८२ भोलीदेखि सुरु हुने भएको छ।
कैलाली जिल्लाको प्याब्सन कार्यसमितिको आयोजनामा हुने यो प्रतियोगिता विद्यालय स्तरमा क्रिकेट प्रतिभा विकास गर्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको हो।
प्रतियोगितामा जिल्लाभरिका निजी विद्यालयका टिमहरूको सहभागिता रहने आज पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
‘खेलकूदलाई विद्यालय स्तरमै विकास गरौँ’ भन्ने मूल नाराका साथ आयोजना भएको यो प्रतियोगिताले खेकूदप्रति विद्यार्थीको चासो अभिवृद्धि गर्ने टाईटल प्रायोजक चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए।
चैतन्य पाठशाला समाज, विद्यार्थी र जनसमुदायसँग जोडिएका कार्यक्रममा सधैँ सकारात्मक रूपमा जोडिँदै आएको र जोडिने समेत प्राचार्य ओझाले बताए।
कैलालीका क्रिकेट खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यका साथ सञ्चालन हुन लागेको प्रतियोगिताले खेलकूदमार्फत अनुशासन, नेतृत्व क्षमता र टोली भावना विकास हुने विश्वास लिइएको प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्रराज पण्डितले बताए।
आयोजकका अनुसार प्रतियोगितालाई सफल बनाउन स्थानीय निकाय, अभिभावक, विद्यालय, खेल प्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहयोग प्राप्त भएको छ।
खेल धनगढी उपमहानगरपालिका ३ मा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने भएको छ।



