Logo
४ वैशाख २०८३, शुक्रबार

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता

अक्षरपाटी
२०८२ पुस ३ , बिहीबार ०८:१२ मा प्रकाशित

काठमाडौं। बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र अन्तर्राष्ट्रिय स्तरमा स्थापित भारतको चेन होटल लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनको १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत (सिइओ) विलास पवारले काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा बन्दीपुर केबल कारका अध्यक्ष रामचन्द्र शर्मा, इन्जिनियर पन्थी र लेमन ट्री होटल्स लिमिटेडको तर्फबाट मुख्य कार्यकारी अधिकृत पवार, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा, बन्दीपुर केबल कार लिमिटेडका सिइओ डा. रोमन मान श्रेष्ठ सहभागी थिए।

उनीहकरुले यो सम्झौताले नेपालको पर्यटनको क्षेत्रलाई विश्वमा चिनाउने विश्वास व्यक्त गर्दै नेपाललाई पर्यटनको गन्तव्य मार्गको रुपमा विकास गर्दे लैजाने धारणा राखे।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड बन्दीपुर क्षेत्रमा पर्यटन विकासको अग्रणी संस्था हो। लेमन ट्री होटल्स लिमिटेड भारतको एक प्रमुख चेन होटल हो। जसको एसिया र मध्यपूर्वमा ठूलो उपस्थिति छ।

सम्झौता अनुसार बन्दीपुरस्थित होटल अब “लेमन ट्री होटल्स“ ब्राण्डको नेटवर्कको हिस्सा बनेर सञ्चालनमा आउनेछ।

यसले होटलको व्यवस्थापन, ब्राण्ड मान्यता, अन्तर्राष्ट्रिय बजारिकरण, सेवा विस्तार गुणस्तर नियन्त्रण, मानव संशाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच सुनिश्चित गर्ने विश्वास गरिएको छ।

यो सहकार्यलाई बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको विकासको एउटा रणनीतिक टर्निङ पोइन्ट मानिएको छ। अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझेदारीले कम्पनीको राजस्व स्थायित्व, होटलको अकुपेन्सी दरमा वृद्धि, विदेशी मुद्रा आर्जन र ब्राण्ड मूल्य तथा कम्पनीको छविमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यसले लगानीकर्ताको विश्वास बढाउने, बजारमा कम्पनीको विश्वसनीयता वृद्धि गर्ने तथा पर्यटन–केन्द्रित दीर्घकालीन वृद्धिका सम्भावनाहरूलाई अझ स्पष्ट बनाउने अपेक्षा छ।

बन्दीपुर केवलकार, होटल र समग्र गन्तव्य पर्यटनबीचको सहकार्यबाट कम्पनीको व्यवसायिक दायरा विस्तार हुने अपेक्षा गरिएको छ।

सम्झौतापछि बन्दीपुरमा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा वृद्धि, स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना, सेवाको गुणस्तरमा वृद्धि तथा समग्र पर्यटन क्षेत्रको पूर्वाधारमा सुधार हुने अपेक्षा गरिएको छ।

बन्दीपुर केवलकार लेमन ट्री होटल्स