
कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एकैदिन २७० जनाले रक्तदान गरेका छन्।
प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख धरणी पन्तका अनुसार रक्तदान गर्नेहरूमध्ये ४८ जना महिला र २२२ जना पुरुष रहेका छन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक, विभिन्न संघ–संस्था तथा सम्पूर्ण रक्तदाताप्रति आभार व्यक्त गरे ।
केही दिनयता धनगढीमा रगतको अभाव देखिएपछि त्यसलाई व्यवस्थापन गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाहीले बताए । रक्तदान कार्यक्रम केवल रगत संकलनमा सीमित नभई समाजमा रक्तदानको महत्व र आवश्यकताबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको उनले बताए ।

रक्तदान कार्यक्रममा धनगढीका विभिन्न कलेज, इन्स्टिच्युट, अस्पताल तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । ऐश्वर्य बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, खप्तड कलेज, सहारा होटल म्यानेजमेन्ट, साईमा इन्स्टिच्युट लगायतका शैक्षिक संस्थाका शिक्षक, विद्यार्थी, व्यवसायी तथा बाटो हिँडिरहेका सर्वसाधारणसमेत रक्तदानमा सहभागी भएका थिए ।
यसअघि सामाजिक विकास मन्त्रालयका माननीय राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा निसर्ग अस्पताल, नेपाल रेडक्रस सोसाइटी वडा नम्बर ५ उपशाखा, एजी हेल्थ इन्डस्ट्रिज प्रालीलगायत विभिन्न संघ–संस्थाले सहकार्य गरेका थिए ।
आयोजकका अनुसार यस किसिमका कार्यक्रमले रगतको अभाव न्यूनीकरण गर्नुका साथै सामाजिक उत्तरदायित्व र मानवताको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।




