Logo
१४ पुस २०८२, सोमबार

अशोक राई नेतृत्वको जसपा फुट्यो, बहुमत केन्द्रीय सदस्यद्धारा जसपा नेपालसँग एकीकरण

अक्षरपाटी
२०८२ पुस १४ , सोमबार ०३:१२ मा प्रकाशित

काठमाडौं । अशोक राई नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ। जसपा नेपालबाट अलग भई गठन भएको जसपाका बहुमत केन्द्रीय सदस्यहरूले पुनः जनता समाजवादी पार्टी नेपालसँग एकीकरण गरेका छन्।

सोमबार जसपाका सह–अध्यक्ष रेणु यादव, सचिव प्रदीप यादवलगायत बहुमत केन्द्रीय सदस्यहरूले एकीकरणका लागि सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति पत्रमा ‘मिति २०८२ साल पुस १३ गते जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरूसहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो’ भनिएको छ।

एकीकरण प्रक्रियामा पूर्वमन्त्रीसमेत रहेकी सह–अध्यक्ष रेणु यादव, पूर्वमन्त्री प्रदीप यादवलगायत नेताहरू सहभागी थिए।

एकीकरणपछि प्रतिक्रिया दिँदै प्रदीप यादवले मधेश र मधेशी जनताको अधिकार सुनिश्चित गर्नका लागि एकता अपरिहार्य भएको बताए। उनले भने, ‘मधेश आन्दोलनको उपलब्धिका रूपमा स्थापित संघीयता र गणतन्त्रको संरक्षण तथा सम्वर्द्धन, साथै मधेश र मधेशी जनताको अधिकार सुनिश्चित गर्न बदलिँदो राजनीतिक परिवेशमा जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीबीचको एकता आवश्यक थियो। मधेशी जनताको चाहना र जनअपेक्षालाई शिरोधार्य गर्दै यो एकता गरिएको हो।’

यस एकतासँगै अशोक राई नेतृत्वको जसपा औपचारिक रूपमा विभाजित भएको छ भने जसपा नेपाल थप सशक्त बनेको नेताहरूको दाबी छ।