Logo
१४ पुस २०८२, सोमबार

दुर्घटनाको डेढ वर्षपछि पनि पाएन सौर्य एयरलाइन्सले उडान अनुमति, किन भयाे अलमल ?

अक्षरपाटी
२०८२ पुस १४ , सोमबार ०६:१२ मा प्रकाशित

काठमाडौं। विक्रम संवत २०८१ साल साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा पर्यो। जहाजमा सवार १८ जनाको निधन भयो।

सरकारले सोही दिन नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जहाज जाँचबुझ आयोग बनायो।

सो आयोगको प्रतिवेदनअनुसार प्राप्तमध्ये सौर्य एयरलाइन्सप्रति लक्षित ११ र सबै अप्रेटरप्रति लक्षित १२ वटासमेत गरेर २३ सुझाव अनुसार सौर्य एयरलाइन्सले सुधार गरिसके पनि पुन: उडान सञ्चालन भने हुन सकेको छैन।

कुनै पनि कम्पनीको जहाजले उडान भर्नका लागि उडान सुरक्षा अडिट रिपोर्टमा कम्तिमा ६० अंक प्राप्त गर्नुपर्ने हुन्छ। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनापछि गरेको उडान सुरक्षा अडिट रिपोर्टमा सौर्य एयरलाइन्सले ६५ दशमलव ६० अंक प्राप्त गरिसक्दा पनि अझै उडान अनुमति भने पाएको छैन्।

दुर्घटना भएको १७ महिना हुँदा पनि किन उडान नभएकाे, साैर्य एयरलाइन्सका डेपुटी सेफ्टी म्यानेजर बिवेचन खनालले भने, ‘हामीले प्राप्त सुझाव र निर्देशनअनुसार सबै प्रक्रिया पुरा गरिसकेका छाैँ, बाँकी कुरा नियामक निकायकाे हातमा हाे।’

जाँच आयोगले दिएको सुझाव र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को मापदण्डअनुसार सबै प्रक्रिया पुरा गरेर सुरक्षा प्रणाली थप मजुबद बनाउन सफ्टवेर समेत तयारी अवस्थामा रहेको सौर्य एयरलाइन्सका सेफ्टी म्यानेजर रामकुमार रायले बताए।

‘हामीले सम्पूर्ण विभागको सुरक्षा जाँचमा ६५.६० अंक प्राप्त गरिसकेका छौँ’, सौर्य एयरलाइन्सका डेपुटी सेफ्टी म्यानेजर बिवेचन खनालले भने, ‘हामी उडान भर्नका लागि तयारी अवस्थामा छौँ, तर अनुमति दिने नदिने कुरा नेपाल नागरिक उड्डयन प्राधिकरणको हातमा हो, किन ढिलाइ भइरहेको छ, हामीलाई थाहा छैन।’

जाँच प्रतिवेदनले सौर्य एयरलाइन्स र प्राधिकरण दुबै पक्षका कमजोरी औल्याएको थियो। तीँ कमजोरीमध्ये आफूले सुधार्नुपर्ने सबै पक्षका कमजोरी सुधारे पनि प्राधिकरणले उडान सञ्चालन प्रमाणपत्र (एओसी) प्रदान नगरेरका कारण आफूहरु अलमलमा पारेको सौर्य एयरलाइन्सका सञ्चालकहरुको गुनासो छ।

सौर्य एयरलाइन्सका डेपुटी सेफ्टी म्यानेजर खनालले भने, ‘डेढ वर्षदेखि उडान सञ्चालन नपाएर कम्पनी नै समस्यामा पर्ने अवस्था आएको छ। सबै प्रक्रिया पुरा गरिसक्दा पनि डेढ वर्षदेखि अनुमति नपाउँदा कतै विदेशी लगानीकर्ताले हात पाे झिक्ने हुन कि भन्ने त्रास कर्मचारीमा छ। ‘

सौर्य एयरलाइन्ससँग हाल १०५ जना कर्मचारी आवद्ध छन् । डेढ वर्षदेखि जहाज नउडे पनि उनीहरु उडानको पखाईमा छन्। सञ्चालन अनुमतिमा गरिएको ढिलाइका कारण लगानीकर्ता पनि निरुत्साहित हुने अवस्था आएको एयरलाइन्सका कर्मचारी बताउँछन्।

‘सौर्य एयरलाइन्सका डेपुटी सेफ्टी म्यानेजर खनालले भने, ‘एक सयभन्दा बढी कर्मचारीले रोजगार पाएको कम्पनीका बारेमा अलमल होइन, ठोस निर्णय समयमै गरिदिए सबैलाई न्याय हुन्छ। भइरहेको ढिलाइले लगानीकर्ता नै निरुत्साही हुने अवस्था देखिएको छ।’

प्राप्त सुझाव अनुसार उडान सुरक्षा प्रणालीमा सुधार गरेर तोकिएको मापदण्डभन्दा माथि अंक प्राप्त भइसक्दा पनि न उडान सञ्चालन अनुमति दिने, न त कारण भनिदिनाले आफूहरुलाई अन्योलमा परेको सौर्य एयरलाइन्सले जनाएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उडान सुरक्षा हेर्ने निर्देशक विक्रमराज गौतम भने उडान सञ्चालन प्रमाणपत्र (एओसी) प्रदान गर्ने काम प्रक्रियामै रहेको बताए।

उनले अक्षरपाटीसँग कुरा गदै भने, ‘नियतपूर्ण तरिकाले कसैका फाइल रोक्ने वा अगाडि बढाउने भन्ने कुरा हुँदैन। उहाँहरुले भनेअनुसारको प्राविधिक कुराहरु पुरा गर्नुभयो होला, त्यो कुरालाई हाम्रो प्राविधिक टिमले यो चित्तबुझ्दो छ भनेपछि हामी रोक्दैनौँ। यो प्रक्रियामै छ।’

उडान सञ्चालन अनुमति नेपाल नागरिक उड्यन प्राधिकरण साैर्य एयरलाइन्स