Logo
६ माघ २०८२, मंगलबार

किसान बहुउद्देश्यीय सहकारीका सदस्यलाई निसर्गमा विशेष छुट

अक्षरपाटी
२०८२ माघ ६ , मंगलबार ०६:०१ मा प्रकाशित

धनगढी । धनगढी उपमहानगरपालिका ५ स्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा।लि र लम्किचुहा नगरपालिका १ स्थित किसान बहुउद्देश्यीय सहकारी संस्था बीच १ वर्षे स्वास्थ्य सम्झौता सम्पन्न भएको छ।

सम्झौता अनुसार सहकारीका सम्पूर्ण सेयर सदस्य र उनीहरुका परिवारले (आमा–बुवा, श्रीमान–श्रीमती, छोराछोरी) निसर्ग हस्पिटलमा उपचार गराउँदा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतामा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र किसान बहुउद्देश्यीय सहकारीका महाप्रबन्धक डम्बर बहादुर शाह ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारीका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरू पनि उपस्थित थिए।

सम्झौता अन्तर्गत आगामी दिनमा सुदूरपश्चिमका तराई र पहाडी जिल्लाका विकट गाउँ–बस्तिमा संयुक्त स्वास्थ्य शिविरहरू संचालन गरिने छ। यसबाट गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्य राखिएको छ।

किसान बहुउद्देश्यीय सहकारीसँग हाल ९३ हजारभन्दा बढी सेयर सदस्यहरू आबद्ध छन्। सहकारीका महाप्रबन्धक डम्बर बहादुर शाहले भने, “हामी हाम्रो सदस्य र परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सस्तोमा उपलब्ध गराउन प्रतिबद्ध छौं। निसर्ग हस्पिटलसँगको यो साझेदारीले हाम्रो सदस्यहरूलाई प्रत्यक्ष लाभ पुर्याउने छ।”

निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले भने, “हामी सुदूरपश्चिममा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने योजनामा सक्रिय छौं। सहकारीसँगको सहकार्यले यो पहललाई थप प्रभावकारी बनाउनेछ।”

सम्झौताअनुसार, सहकारीका सदस्यहरूले निसर्ग हस्पिटलमा नियमित उपचार, आकस्मिक स्वास्थ्य समस्या र जाँच परीक्षणहरूमा छुट पाउनेछन्। साथै, स्वास्थ्य शिविरहरूमा पहुँच पाएर विकट स्थानका मानिसहरूलाई पनि प्रत्यक्ष लाभ पुग्नेछ।

यसरी निसर्ग हस्पिटल र किसान सहकारीबीच भएको साझेदारीले सुदूरपश्चिमका गाउँ–सहरमा स्वास्थ्य पहुँचको दूरी घटाउने, गुणस्तरीय सेवा सुनिश्चित गर्ने र सदस्यहरूको भलो गर्ने उद्देश्य पूरा गर्ने अपेक्षा गरिएको छ।