

एजेन्सी। भारतको पश्चिम बंगालमा फेरी निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि सतर्कता अपनाइएको मन्त्रालयले दावी गरेको छ।
सन २०१८ र २१ मा पनि भारतको केरलामा यो भाइरसक देखिएको थियो। अहिले पुनः पश्चिम बंगालमा यो भाइरसका संक्रमित बढेसँगै नेपालमा सतर्कता अपनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पश्चिम बंगालमा केही साताअभि नै यो भाइरसको संक्रमण पुनः पुष्टि भएको हो। अहिले नेपालमा हवाई तथा स्थल नाकामा सतर्कता बढाइएको मन्त्रालयको दावी छ।
के हो यो रोग ?
एनआईभी भनिने निपाह भाइरसको संक्रमणले हुने नयाँ किसिमको रोग हो। यो अरू पशुबाट मानिसमा सर्न सक्छ।
यो भाइरस खासगरी ‘फ्रूट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ।
यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।
त्यतिखेर फैलिएको इन्सेफलाइटिस तथा श्वासप्रश्वाससम्बन्धी प्रकोपका बेला बङ्गुरपालक किसानहरूमा यो रोग भेटिएको थियो।
सो प्रकोपमा झन्डै तीन सय जनाले ज्यान गुमाएका थिए। प्रकोप रोक्न १० लाखभन्दा धेरै बङ्गुर मारिएका थिए।

कसरी बच्ने ?
रोग पाइने स्थानमा भएका बिरामी बङ्गुर तथा चमेराको सम्पर्कबाट टाढा रहेर यो रोगबाट बच्न सकिने बताइन्छ।
यसका लक्षण भएमा ज्वरो, टाउको दुख्ने, कमजोरी तथा मानसिक असन्तुलन पर्दछन्।
त्यसबाहेक रिँगटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलको सुजन पनि प्रमुख लक्षणमध्ये रहेको विज्ञहरु बताउँछन्।
लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्छ।
यसको उपचार छ कि छैन?
मन्त्रालयका अनुसार यो भाइरसको सङ्क्रमणको निश्चित उपचार छैन। यो भाइरसविरुद्ध खोप पनि बनिसकेको छैन।
तसर्थ यसबाट जोगिने कुरामा ध्यान दिनुपर्ने हुन्छ। भाइरसबाट बच्नका लागि बिरामी पशुपक्षीनजिक नजाने र पशुपक्षीसँगै काम गर्ने व्यक्तिहरू होसियार रहनुपर्ने हुन्छ।
त्यस्तै तरकारी, माछामासु राम्रोसँग पकाएर र फलफूल राम्रोसँग पखालेर खानुपर्ने हुन्छ। सरसफाइमा पनि ध्यान दिनुपर्ने हुन्छ।
गाईबस्तुका गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर पिउने, बेलाबेलामा साबुन पानीले हात धुने र भिडभाडमा मास्क लगाउनाले भाइरसको रोकथाम गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ।
निपाह भाइरस



