Logo
१३ माघ २०८२, मंगलबार

वैकल्पिक राजनीतिको भ्रम र सत्यको बाटोमा काङ्ग्रेस

अक्षरपाटी
२०८२ माघ ९ , शुक्रबार ०८:०१ मा प्रकाशित

  • राज्य सञ्चालन कुनै स्टाटस लेखेर हुँदैन । न त भाषण गरेर वा विरोध गरेर मात्र सम्भव छ। सिद्धान्त, नीति, अनुभव, संस्था र निरन्तरता बिना कुनै पनि राजनीतिक शक्ति दीर्घकालीन रूपमा सफल हुन सक्दैन।
  • आत्मसमीक्षाको आवश्यकताबाट जन्मिएको थियो गत पुस २७ देखि ३० मा सम्पन्न दोस्रो विशेष महाधिवेशन। यो महाधिवेशन खाली औपचारिकता मात्र थिएन, बरु काङ्ग्रेसभित्र सुधार सम्भव छ भन्ने राजनीतिक सन्देश थियो।
  • युवापुस्तालाई लक्षित गरेर भन्नुपर्दा- राजनीति केवल विरोध गर्ने प्लेटफर्म होइन, समाधान खोज्ने प्रक्रिया हो। ट्रेन्डिङ ह्यासट्यागभन्दा नीति बलियो हुनुपर्छ। तत्काल लोकप्रियताभन्दा दीर्घकालीन जिम्मेवारी महत्त्वपूर्ण हुन्छ।
  • विकल्पको नाममा अनुभवहीनता, अस्थिरता र अव्यवस्थित प्रयोग रोज्नु राष्ट्रका लागि घातक हुन सक्छ। भ्रमको राजनीति क्षणिक रूपमा आकर्षक देखिनसक्छ, तर देशलाई सही दिशामा लैजान सक्दैन।

० लेखराज जोशी

नेपालको समकालीन राजनीतिमा ‘बैकल्पिक राजनीति’ भन्ने शब्द निकै चर्चित र लोकप्रिय भएको छ। चर्चा र जनचासोसँगै यो विवादित पनि बनेको छ।

लामो समयदेखि सत्ता र प्रमुख राजनीतिको केन्द्रमा रहेका दलहरूप्रति बढ्दो जनआक्रोश, बेरोजगारी समस्या, भ्रष्टाचार, सेवा प्रवाहको कमजोरी, अस्थिर सरकार र शासकप्रतिको निराशाले जनतालाई नयाँ विकल्प खोज्न बाध्य बनाएको छ।

यही निराशाको धरातलमा केही नयाँ राजनीतिक शक्तिहरूले आफूलाई ‘विकल्प’का रूपमा प्रस्तुत गरिरहेका छन्। तर प्रश्न गम्भीर छ- के यी देखाइएका विकल्पहरू साँच्चै राष्ट्र निर्माणका लागि सक्षम छन्, कि केवल असन्तुष्टिको भावनामा उभिएका राजनीतिक प्रयोग मात्र हुन ?

वैकल्पिक राजनीतिको नाममा देखिएको मुख्य प्रवृत्ति भनेको पुराना दलमाथि आरोप लगाउनु, विद्वेष जन्माउनु र आक्रोशलाई राजनीतिक पूँजी बनाउनु हो। भाषणमा चर्काेपन, सामाजिक सञ्जालमा लोकप्रियता र तत्काल प्रतिक्रिया दिनसक्ने शैलीलाई नै सक्षम राजनीति ठान्ने भ्रम फैलाइएको छ।

तर राज्य सञ्चालन कुनै स्टाटस लेखेर हुँदैन । न त भाषण गरेर वा विरोध गरेर मात्र सम्भव छ। सिद्धान्त, नीति, अनुभव, संस्था र निरन्तरता बिना कुनै पनि राजनीतिक शक्ति दीर्घकालीन रूपमा सफल हुन सक्दैन। नसकेका तमाम दृष्ठान्त छन्।

यस पृष्ठभूमिमा नेपाली काङ्ग्रेसलाई जोडेर विश्लेषण गर्न खोजेको छु। काङ्ग्रेस केवल ‘पुरानो दल’ भन्ने आधारमा अस्वीकार गर्ने प्रवृत्ति खतरनाक छ। काङ्ग्रेससँगै नेपालमा लोकतन्त्रको इतिहास जन्मिएको हाे, याे मुलुककाे त्यस्ताे राजनीतिक विरासत बाेकेको शक्ति हो।

राणा शासनको अन्त्य, प्रजातन्त्रको स्थापना, २०४६ को जनआन्दोलन, २०६२-६३ को ऐतिहासिक परिवर्तन, शान्ति प्रक्रिया र संविधान निर्माण- यीं सबै निर्णायक मोडहरूमा काङ्ग्रेसको भूमिका प्रमुख नेतृत्वदायी थियो। यो इतिहास केवल गर्वको विषय होइन, जिम्मेवारीको स्मरण पनि हो।

लेखक : लेखराज जोशी

तर इतिहास मात्र पर्याप्त हुँदैन- यो सत्य काङ्ग्रेसले पनि स्वीकार गर्नुपर्छ। आज काङ्ग्रेसभित्र गम्भीर समस्या छन्। गुटबन्दी, आन्तरिक शक्ति संघर्ष, निर्णय प्रक्रियामा ढिलाइ, ग्राउन्ड रियालिटीको अस्वीकार्यता, कार्यसम्पादनमा कमजोरी र जनअपेक्षाअनुसार परिणाम दिन नसक्नु। जसले काङ्ग्रेसको छविमा नकारात्मक असर पारेको छ।

विशेषगरी युवापुस्तामा ‘काङ्ग्रेस सुस्त छ, परिवर्तनको गति समाउन सकेन’ भन्ने धारणा बलियो बनेको यथार्थ हो। यी आलोचनाबाट भाग्नु होइन, सामना गर्नु नै काङ्ग्रेसका लागि सत्यको बाटो हो।

यही आत्मसमीक्षाको आवश्यकताबाट जन्मिएको थियो गत पुस २७ देखि ३० मा सम्पन्न दोस्रो विशेष महाधिवेशन। यो महाधिवेशन खाली औपचारिकता मात्र थिएन, बरु काङ्ग्रेसभित्र सुधार सम्भव छ भन्ने राजनीतिक सन्देश थियो।

लामो समयदेखि उठिरहेका संगठनात्मक कमजोरी, आन्तरिक लोकतन्त्रको प्रश्न, जिम्मेवारी र जवाफदेहिताको आवश्यकता जस्ता विषयहरूलाई विशेष महाधिवेशनले गम्भीरतापूर्वक सम्बोधन गर्‍यो।

दोस्रो विशेष महाधिवेशनको सबैभन्दा सकारात्मक पक्ष भनेको आत्मालोचनाको स्वीकारोक्ति हो। ‘हामी सही छौँ’ भन्ने दम्भभन्दा माथि उठेर ‘हामी सुध्रिनुपर्छ’ भन्ने निष्कर्षमा पुग्नु आफैँमा ठूलो राजनीतिक परिपक्वता हो।

संगठन सुदृढीकरण, नीति केन्द्रित राजनीति, कार्यसम्पादनका आधारमा जिम्मेवारी दिने सोच, अनुशासन र आन्तरिक संवादलाई प्राथमिकता दिने निर्णयहरूले काङ्ग्रेसलाई सही दिशातर्फ मोड्ने संकेत दिएका छन्।

महाधिवेशनपछि देखिएका प्रारम्भिक परिणामहरू पनि उत्साहजनक छन्। पार्टीभित्र बहसको संस्कृति विस्तार हुँदै गएको छ। आलाेचकहरुले स्थान पाउन थालेका छन्। आडम्बर हानिकारक हुनसक्छ भन्ने डर नेतृत्वमा स्थापित भएको छ।

युवालाई भूमिकाविहीन दर्शक होइन, निर्णय प्रक्रियाको हिस्सा बनाउने आवश्यकता स्वीकारिएको छ। यी परिवर्तनहरू क्रान्तिकारी र दीर्घकालीन रूपमा अत्यन्तै महत्वपूर्ण छन्। किनकि संस्थागत सुधार रातारात हुदैनन्, यो सधैं क्रमिक र चरणबद्ध हुन्छ।

चुनावी दृष्टिले हेर्दा पनि काङ्ग्रेसले अब स्पष्ट सन्देश दिनुपर्ने समय आएको छ। जनताले स्थिरता र जिम्मेवारीसहितको परिवर्तन चाहेको छ। आक्रोशमा आधारित प्रयोग होइन, अनुभव र सुधारको संयोजन खोजेको छ। काङ्ग्रेसले आफ्नो कमजोरी स्वीकार्दै, विशेष महाधिवेशनबाट सुरु भएको सुधार यात्रालाई व्यवहारमा उतार्न सक्याे भने, त्यो नै सबैभन्दा बलियो चुनावी सन्देश हुनेछ।

युवापुस्तालाई लक्षित गरेर भन्नुपर्दा- राजनीति केवल विरोध गर्ने प्लेटफर्म होइन, समाधान खोज्ने प्रक्रिया हो। ट्रेन्डिङ ह्यासट्यागभन्दा नीति बलियो हुनुपर्छ। तत्काल लोकप्रियताभन्दा दीर्घकालीन जिम्मेवारी महत्त्वपूर्ण हुन्छ।

काङ्ग्रेसले यदि युवाको ऊर्जा, प्रविधिको प्रयोग र आधुनिक सोचलाई आफ्नो ऐतिहासिक मूल्य र संस्थागत अनुभवसँग जोड्न सक्यो भने, त्यो नै साँचो विकल्प स्थापित हुनसक्छ।

निराशाको विकल्प खोज्नु स्वाभाविक हो। तर विकल्पको नाममा अनुभवहीनता, अस्थिरता र अव्यवस्थित प्रयोग रोज्नु राष्ट्रका लागि घातक हुन सक्छ। भ्रमको राजनीति क्षणिक रूपमा आकर्षक देखिनसक्छ, तर देशलाई सही दिशामा लैजान सक्दैन। सत्यको बाटो कठिन हुन्छ चर त्यही बाटोले मात्र लोकतन्त्रलाई मजबुत बनाउँछ।

नेपाली काङ्ग्रेस आज निर्णायक मोडमा उभिएको छ। या त उसले आत्मसुधारको यात्रालाई गहिरो बनाउँदै भरोसाको राजनीति पुनःस्थापित गर्नुपर्छ, या त भ्रमको राजनीतिमा अल्मलिएको भीडमा हराउनुपर्छ। दोस्रो विशेष महाधिवेशनले काङ्ग्रेसलाई सही बाटो देखाएको छ। अब प्रश्न प्रमुख नेतृत्व र कार्यकर्ताको इच्छाशक्तिप्रति लक्षित छ।

नेपालको लोकतान्त्रिक भविष्यका लागि अनुभवी, सुधारोन्मुख र जिम्मेवार राजनीतिक शक्ति आवश्यक छ। सत्यको बाटो नछोडेमा यीं सबै आवस्यकता पुरा गर्ने क्षमता भएको पार्टी नेपाली काङ्ग्रेस मात्रै हो। यस पटक यो संदेश निर्वाचनमार्फत दिन र परिणाम लिन काङ्ग्रेसको संगठन सक्षम रहोस्।

-(लेखक नेपाली कांग्रेसका युवा नेता हुन्।)

नीति र नेतृत्व नेपाली कांग्रेस लेखराज जाेशी