

कैलाली। फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि यतिबेला मनोनयन दर्ता गराएर उम्मेदवारहरु गाउँगाउँ पुगेका छन्। देश निर्वाचनमय बनेको छ।
सरकार र निर्वाचन आयोगले आफ्नो तयारीका चरणहरु क्रमवद्ध रुपमा पार गर्दै गएको छ। यही मेलोमा नेपाली कांग्रेसका युवा नेता कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार बनेका छन् गोरख बहादुर विष्ट ‘आनन्द’।
समयअभावका कारण वारेसमार्फत उम्मेदवारी दर्ता गराएका उनी बुधबार बिहानै निर्वाचन क्षेत्र टेके।
निर्वाचन भनेको प्रतिस्पर्धा हो, जहाँ एकले अर्कोलाई उछिन्ने, आलोचना गर्ने र अरुभन्दा आफू अब्बल दाबी गरेर चुनावी अभियानमा जुट्ने परम्परा छ। तर कैलाली ४ मा काँग्रेसबाट उम्मेदवार बनेका विष्टले पहिलो वक्तव्य नै सौहार्दपूर्ण दिएर धेरैको मन जित्ने कोसिस गरिदिए।
उनले ‘आलोचना होइन, एजेन्डाुलाई चुनावको प्रमुख मुद्दा बनाउने मात्र भनेनन्, विमानस्थलमा आफ्नो जन्मभूमीप्रति सम्मान अर्पण गर्दै माटोलाई स्पर्श गरेर भने म कसैको आलोचना गर्दिन, आफूले सक्ने कामको फेहरिस्तका पछि लाग्छु। सबै प्रतिस्पर्धीप्रति मेरो उत्तिकै सम्मान छ।’

विमानस्थलमा शुभेच्छुकको स्वागत स्वीकारेर उनले गोदावरी तीर्थस्थल पुगेर चलिरहेको बाह्र राशि कुम्भ मेलामा कुम्भ बाटिका र शिवालयमा पूजाअर्चना गरे।
निर्वाचन क्षेत्र जाँदै गर्दा विष्टले नेकपा एमालेका उम्मेदवार आफ्ना प्रतिस्पर्धी लेखराज भट्टलाई फोन गरेर स्वच्छ र सभ्य प्रतिस्पर्धा गर्न अपिल गेर।
उनको यो शैलीले चुनावमा एकअर्काको आलोचनाबिना पनि सद्भावपूर्ण व्यवहारबाट पनि प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न खोजे। त्यो मात्र होइन देशमा पटक पटक निर्वाचन जितेका, साशकीय नेतृत्वमा रहेकाहरु पनि प्रतिस्पर्धीको कटु आलोचक देखिरहेको बेला आनन्दको सद्भावपूर्ण शैलीले विपक्षीहरु पनि नतमस्तक बनेको देखिन्छ।
उनले राजनीतिमा परम्परागत गालीगलौजको शैलीलाई लत्याएर सौहार्दपूर्ण वातावरण र सभ्य शैलीमा पनि जनताको विश्वास जित्न सकिन्छ भन्ने अठोट देखाए। जसले उनका आलोचकहरुलाई पनि सोच्न वाध्य बनाइदिएको छ।
जसको उदाहरण विष्टले आफ्नै प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हरि चौधरी ‘उत्सव’सँग भेट मात्रै गरेनन् अंगालो मारे, हात मिलाए र शुभकामना समेत आदानप्रदान गरे।
‘हामी आफ्ना योजना र आफूले के गर्ने भन्ने एजेण्डा बोकेर जनतामा जानुपर्छ। सकारात्मक भावका साथ चुनावी प्रतिस्पर्धामा होमिनुपर्छ। चुनाव लोकतान्त्रिक प्रक्रिया हो। आलोचना मात्रै गर्ने संस्कार त्याग्नुपर्छ। तपाईंलाई मेरो शुभकामना छ’, उनले भने। उनको यो व्यवहारले चौधरीको मनोभाव निकै कृतज्ञ देखिएको थियो ।
यतिबेला विष्टले निर्वाचन क्षेत्रका जनता, समाजसेवी, पार्टीका नेता, कार्यकर्ता र राजनीतिक व्यक्तित्वहरूसँगको भेटघाट बाक्लो बनाएका छन्।
कांग्रेसबाट टिकटको दावेदार रहेका लोकप्रिय नेता लोकराज पाण्डेय ‘आगो’, दिनेश राज जोशीलगायत नेताहरुसँग विष्टले संवाद गर्दै कांग्रेसमा बलियो एकता रहेको सन्देश दिएका छन्।

टिकटका दावेदार रहेका नेता आगोले सामाजिक सञ्चालमार्फत कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गर्दै लेखेका छन्- ‘आदरणीय सभापति गगन कुमार थापाको हस्ताक्षर भएको टिकिट, रुख र चारतारे झन्डाका पक्षमा लगेर विजय गराउन हार्दिक आग्रह गर्द्छु। म तन र मनका साथ लाग्ने छु। टिकट जसको भएनि रुख चुनाव चिन्ह जहाँ छ, त्यहाँ हामी र म छु। जय नेपाल।’
त्यस्तै यस क्षेत्रका प्रभावशाली नेता दिनेश राज जोशीले टिकटका लागि आफ्ना पक्षमा भएको ओकालतले आफूलाई थप जिम्मेवार बनाएको भन्दै ‘आगामी दिनमा पनि तपाईंहरूको निरन्तर साथ, मार्गदर्शन र सहयोगको अपेक्षा गर्दछु। पार्टीबाट टिकट प्राप्त गर्नुभएका कैलाली जिल्लाका सम्पूर्ण उम्मेदवार साथीहरूलाई मेरो तर्फबाट हार्दिक शुभकामना। तपाईंहरूको विजय हाम्रो सामूहिक अभिमान हुनेछ,’ भनेर सामाजिक सञ्चालमा प्रतिवद्धता जनाएका छन्।
कैलाली ४ का सबै नेताहरू एकवद्ध भएर चुनावमा होमिदा माहोल सौहार्दपूर्ण बन्दै गएको नेताहरूले बताएका छन्।
कांग्रेस उम्मेदवार विष्टले पनि यस क्षेत्रको पिछडापन बदल्न आफू पवित्र सेवा भावका साथ कैलाली ४ मा आएको बताएका छन्।
‘म पवित्र भावका साथ कैलाली–४ का जनताको सेवा गर्न आएको छु। मेरो मन कञ्चन छ। म खुल्ला किताब जस्तै छु। हामीले चुनावी प्रतिस्पर्धा गर्दा अरु उम्मेदवारहरूलाई विभिन्न आरोप प्रत्यारोप गर्नु हुँदैन। कसैलाई गाली गर्नु हुँदैन। आफ्ना एजेण्डासहित जनतामा जानुपर्छ। यो हाम्रो लोकतान्त्रिक संस्कार पनि हो। म जनताको घरदैलोमा आफ्ना योजना र विचार बोकेर पुग्ने छु,’ उनले भनेका छन्।
आफ्नो ३६ वर्ष लामो राजनीतिक अनुभव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धको सदुपयोग गर्दै कैलाली क्षेत्र नम्बर ४ को विकासमा आफू समर्पित हुने उनले अक्षरपाटीसँग बताए।
उनले भने, ‘कैलाली सुगम भएर पनि मेरो क्षेत्रको ठूलो भूभाग दुर्गम रहेका, यहाँको शिक्षा, स्वास्थ्य र सडक कम्तिमा मेरो प्राथमिकताको विषय रहनेछ । सँधै खबरदारीको अपेक्षा गर्छु।’
उनले आफू जेनजी आन्दोलनको भावना समेटेर अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे। ‘म जेनजी भावनाको सम्मान गरेर अगाडि बढ्ने छु। म परिवर्तनको सम्वाहक बनेर आएको छु, मेरो स्वार्थ राजनीति मार्फत जनताका लागि सकेको सेवा गर्नु हो,’ उनले भने।
कैलाली ४ बाट २०७२ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसकै वीर बहादुर बलायर विजयी भएका थिए।
आनन्द विष्ट कैलाली क्षेत्र नं ४ नेपाली काँग्रेस



