Logo
२५ माघ २०८२, आईतबार

विश्व क्यान्सर दिवस : साथ र हाैसलाका लागि नेपाल क्यान्सर हस्पिटलद्वारा दीप प्रज्वलन

अक्षरपाटी
२०८२ माघ २१ , बुधबार ०९:०२ मा प्रकाशित

ललितपुर । आज फ्रेबुअरी ४, अर्थात विश्व क्यान्सर दिवस। दिवसका अवसरमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले भव्य कार्यक्रम आयोजना गरेको छ।

विश्वभर तीव्र रुपमा फैलँदै गएको क्यान्सर रोगविरुद्ध जनतेना फैलाउने, दिवंगतप्रति सम्झना, लडेकाप्रति साथ र रोगसँग लडिरहेकाहरुलाई हौसला प्रदान गर्न अस्पतालले दीप प्रज्वलनलगायत औपचारिक कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ तथा अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठले क्यान्सरलाई एकदिने दिवसका रुपमा मात्र नभएर हरेक पल सम्झना गर्नुपर्ने बताए।

उनले विश्वव्यापी रुपमा फैलँदै गएको क्यान्सर जोसुकैलाई जतिबेला पनि देखा पर्नसक्नेमा सचेत गराए।

‘क्यान्सर जोसुकैलाई जतिबेला पनि हुनसक्छ, क्यान्सरलाई परास्त गर्न हामी सबै एकतावद्ध भएर लड्नुपर्छ,’ डा श्रेष्ठले भने।

‘नेपालमा क्यान्सरको उपचार सम्भव छैन’ भन्ने अवस्था रहेका बेला डा. सुदीप श्रेष्ठले ललितपुरको हरिसिद्धिमा सन २०१५ मा नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर स्थापना गरेका हुन्।

यो अस्पतालको स्थापनापछि क्यान्सरको उपचार नेपालमै हुन्छ, त्यो पनि विश्वस्तरकै तुलनामा भन्ने मान्यता हजारौँ क्यान्सरका बिरामीहरुको उपचारबाट स्थापित हुँदै गएको छ।

कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा विजेशराज घिमिरेले वर्षेनी विश्वभर दुई करोड मानिसलाई क्यान्सर हुने र हाराहारी एक करोड मानिसले ज्यान गुमाइरहेका बताए।

‘सन २०३५ सम्म विश्वमा वर्षेनी ३ करोडलाई क्यान्सर हुने सम्भावना छ, सन २०५० मा त यो सँख्या ५ करोड पुग्छ भन्ने अनुमान छ,’ उनले भने, ‘अब क्यान्सर दीर्घ रोगजस्तै बन्दै छ, त्यसैले यो रोगसँग डरने होइन, लडेर जिउने हो। त्यसका लागि सबैको हातेमालो जरुरी छ।’

डा. घिमिरेले यसका लागि उपचार गर्ने विशेषज्ञ जनशक्ति, उपचारको शैली र प्रविधि पनि अत्याधुनिक हुँदै गएको उनले बताए।

नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरकै चिकित्सक डा. गुसुपनिख प्रसिकोले व्यक्ति अनुसार एउटैखाले क्यान्सर रोगको पनि पीडा, अवस्था र स्वरुप फरक हुने बताए।

भौगोलिक अवस्था, वातावरण, परिवेश तथा जीवनशैलीअनुसार एउटै रोगको पनि स्वरुप फरक पाइने गरेको धारणा राखे। जे भए पनि समयमै उपचार गर्नसके क्यान्सर अब डरलाग्दो रोग नभएको उनले बताए।

कार्यक्रममा रोगसँग जितेकाहरुले आ-आफ्नो अनुभव सुनाएका थिए। उनीहरुले भने, ‘यो रोग लागेको थाहा पाउँदा अब जीवन के हो, के हो? सोचेका थियौँ, तर नेपालमै नेपाल क्यान्सर अस्पतालजस्तो सँस्थामा उपचार पाएपछि स्वस्थ्य जीवन बाँचिरहेका छौँ।’

कार्यक्रममा डा कपेन्द्रशेखर अमात्य, डा हरिप्रसाद ढकाल, अस्पतालकी निर्देशक डा स्वरुपा श्रेष्ठलगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको थियो।

अस्पतालको प्राङ्गणमा आयोजित कार्यक्रमस्थलमा फोटो बुथ, एक्येवद्धताका लागि हस्ताक्षर, स्वास्थ्य परीक्षण गरिनुका साथै बेलुन उडाएर कार्यक्रम सम्पन्न गरिएको थियो।

डा सुदीप श्रेष्ठ डा स्वरुपा श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल