Logo
२५ माघ २०८२, आईतबार

म पद लिएर होइन, तपाईँहरुको आवाज बनेर संसदमा उभिन चाहन्छु : आनन्द

अक्षरपाटी
२०८२ माघ २३ , शुक्रबार ०६:०२ मा प्रकाशित

० अक्षरपाटी विशेष

काठमाडौं। प्रतिनिधि सभा सदस्य उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ चुनावी अभियानमा छन्।

उनले चुरे ४ बालुवागडामा पुगेर भने- ‘म जनताका दुःखको सहयात्री बन्न आएको हुँ।’

गौरीगंगा नगरपालिका १ गोप्कामा आयोजित वडा भेला र सम्पर्क कार्यालय उद्घाटनमा पनि उनको बोली उस्तै थियो।

नेपाली काँग्रेसको तर्फबाट कैलाली क्षेत्र नम्बर ४ को उम्मेदवार बनेका युवा नेता बिष्टले भने, ‘पद, प्रतिष्ठा वा सुख र शक्ति चाहिएर म तपाइँहरुमाझ आएको होइन।’

शब्द र भाषा फरक भए पनि उनको आसय थियो- ‘यो सबै चाहिएको भए म तपाईँहरुमाझ आउने थिएन। म त यहाँहरुको पीरमर्का, दुःख सुख, चुनौति र अवसर के हुन सुन्न आएको हुँ। त्यसको सहयात्री बनेर सदनमा पुर्याउने अठोट बोकेर आएको हुँ।’

रहर होस, या करले विश्वकै सम्भ्रान्त मुलुक अमेरिकाको समेत अनुभव संगालेका, त्यहाँ पनि राजनीतिक संगठनको नेतृत्व गरेका आनन्दले भने, ‘केहीले मलाई टुरिस्ट भने, त्यो सोचको कुरा हो, अहिलेको बदलिँदो युगमा संसार देखेकै मान्छे नेतृत्वमा चाहिन्छ। उसँग भिजन हुन्छ।’

हिँजोका दिनमा दूरदराजबाट चुनाव जितेर काठमाडौँ पुगेपछि नफर्कने नेतृत्वले आजित बनेका स्थानीयलाई ढाडस दिँदै उनले भने, ‘म यहाँहरुका पीडा, समस्या र योजना सुन्न मात्र होइन आवाज बनेर संसदमा प्रस्तुत हुन चाहन्छु। म यहाँका कृषि, पर्यटन, जडिबुटी, पशुपालनदेखि विकास निर्माणका योजनालाई मुर्त रुप दिन आएको हुँ।’

जन्म घर डोटी भए पनि पारिवारिक बसाइ क्षेत्र नम्बर ४ मै रहेका बिष्टले विदेशिनु आम नेपालीको नियति भएको बताए।

उनले भने, ‘कोही पढ्न, कोही कमाउन, थोरै रहर त धेरै बाध्यताले विदेश पुगेका छन्, म पनि पुगेँ, तर विदेशमा रहेका तिनै दाजुभाइ, दिदीबहिनीलाई स्वदेश फर्कनलायक देश बनाउने अभियानमा होमिन म चुनावी मैदानमा उत्रिएको हुँ।’

गोप्कामा भएको कार्यक्रममा उनलाई थारु समुदायका कलाकारहरूले परम्परागत ‘सखिया नाच’ प्रस्तुत गरेर स्वागत गरेका थिए।

स्थानीयवासीको घरमै पुगेर संवाद गर्दै समस्या बुझ्ने बिष्टको शैली निकै प्रेरक रहेको मतदाताले प्रतिक्रिया दिएका थिए।

आजै चुरे ४ बालुवागडा पुगेका उनलाई स्थानीयले हार्दिकताका साथ स्वागत गरेका थिए।
स्थानीयसँग विष्टले आफू पनि स्थानीय जनताको दुःखको साँक्षी होइन, सहयात्री बनेर समाधान गर्न आएको बताए।

उनले आजको युगमा आधारभूत आवश्यकता पूर्तिसहितको लोकतान्त्रिक भविश्य सुरक्षित गर्न नागरिकको भूमिका अहम हुने बताए।

उनले लोकतन्त्र स्थापनापछिको लामो समयसम्म पनि सामान्य आधारभूत आवश्यकताबाट बञ्चित हुनुपर्ने दूरदराजका समस्या समाधानको आवाज बनेर आफू संसदमा प्रस्तुत हुने प्रतिबद्धता स्थानीय सामू व्यक्त गरे।

उनले भने, ‘म आवाज मात्र बनेर संसदमा उपस्थित हुने छैन, यहाँहरुका दुःख, अभाव, सम्भावना र परिवर्तनको परिणाम बनेर निस्कने अठोट पनि व्यक्त गर्छु।’

आनन्द गाेरखबहादुर बिष्ट निर्वाचन