Logo
२५ माघ २०८२, आईतबार

प्रतिनिधिसभा निर्वाचन र झापामा महिला नेतृत्वको आशा

अक्षरपाटी
२०८२ माघ २४ , शनिबार ०९:०२ मा प्रकाशित

आजको संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता केवल आरक्षण होइन, यो ऐतिहासिक सङ्घर्षको परिणाम हो।

अब आवश्यक छ—दल, समाज र मतदाताले महिला उम्मेदवारलाई करुणा वा प्रतीकको रूपमा होइन, योग्य नेतृत्वकर्ताको रूपमा मूल्याङ्कन गर्नु।

o लीला अनमाेल

प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा झापाका पाँचै निर्वाचन क्षेत्रमा महिला उम्मेदवारी देखिनु आफैँमा उत्साहजनक र ऐतिहासिक सङ्केत हो।

यो उम्मेदवारीलाई सङ्ख्या मात्र भन्दा पनि नेपाली समाजले बिस्तारै स्वीकार गर्दै गएको समावेशी लोकतन्त्र र नेतृत्वमा नयाँ संस्कारको प्रतिविम्ब हो। लामो समयसम्म निर्णय प्रक्रियाबाट पर धकेलिएका महिला आज राष्ट्र निर्माणको केन्द्रमा उभिन खोजिरहेका छन्,र यो परिवर्तनले समृद्ध समाजको आधार तयार पार्दैछ।

नेपालको इतिहास पल्टाउँदा, महिला नेतृत्व कुनै नयाँ अवधारणा होइन। वैदिक कालदेखि नै गार्गी, मैत्रेयीजस्ता विदुषी महिलाले ज्ञान र दर्शनको नेतृत्व गरेका थिए। आधुनिक नेपालको राजनीतिक इतिहासमा योगमाया न्यौपाने सामाजिक न्याय र धार्मिक सुधारका लागि साहसिक आवाज बनिन्।

प्रजातन्त्र पुनर्स्थापनाकाे आन्दोलन जन-आन्दोलन–२०४६, जन-आन्दोलन–२०६२/६३ र संविधान निर्माण प्रक्रियामा महिला सडकदेखि संसदसम्म निर्णायक भूमिकामा उभिए। आजको संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता केवल आरक्षण होइन, यो ऐतिहासिक सङ्घर्षको परिणाम हो।

महिला नेतृत्वको सार केवल प्रतिनिधित्वमा सीमित हुँदैन। महिलाले नेतृत्व गर्दा नीति निर्माणमा संवेदनशीलता, दीर्घकालीन सोच, सामाजिक न्याय र मानव केन्द्रित दृष्टिकोण बलियो हुन्छ भन्ने तथ्य विश्वव्यापी रूपमा स्थापित भइसकेको छ।

एउटा घरलाई प्रेमपूर्वक सिंगार्ने जिम्मेवारीभन्दा माथि उठेर शिक्षा, स्वास्थ्य, बालअधिकार, वातावरण, सुशासन र सामाजिक सद्भाव—यी सबै क्षेत्रमा महिला नेतृत्वले फरक तर गहिरो प्रभाव पार्दै आएको छ।

समृद्ध समाज केवल आर्थिक सूचकाङ्कले होइन, न्यायपूर्ण अवसर र सुरक्षित भविष्यले मापन हुन्छ र त्यसका लागि महिला नेतृत्व अपरिहार्य छ। यो राष्ट्रले विद्यादेवि भण्डारी, सर्वोच्च अदालतको प्रधानन्यायधीशको जिम्मेवारी सम्हालिसकेकी, देशको कठिन परिस्थितिलाई समेत सम्हाली रहेकी हालकी प्रधानमन्त्री सुशिला कार्कीलगायत विभिन्न राजनीतिक तहदेखि सामाजिक वा सरकारी निकायमा समेत सफल नेतृत्व गरिरहेका महिलाको उदाहरण लिन सकिन्छ।

यतिबेला म झापाको राजनीतिक माहौलको सन्दर्भमा महिलाको उपस्थितिलाई उल्ल्खे गर्न खाेज्दैछु। झापा सुरक्षा निकायको प्रमुख भएर निर्वाचन लक्षित गरी आउनु भएकी एसपी वसुन्धरा खड्काको उपस्थितिलाई कठिन परिस्थितिमा महिलाको भूमिका महत्त्वपूर्ण छ भन्ने देखाउँछ।

त्यसो त झापामा चुनावी सारगर्मी यसरी बढेको छ कि सबैतिरको ध्यान यतै तानिएको छ। कारण झापा क्षेत्र नं. ५ र क्षेत्र नं. २ मा क्रमशः पूर्व प्रधानमन्त्री केपि ओलि र बालेन साहको प्रतिस्पर्धा तथा पूर्व सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरको प्रतिस्पर्धा।

यति मात्र होइन झापामा मुख्य राजनीतिक दलको प्रत्यक्ष उमेदवारतर्फ पनि महिलाको नेतृत्व सशक्त छ। झापा जिल्लामा प्रत्यक्षतर्फ महिला उम्मेदवार (२०८२ प्रतिनिधिसभा) झापा–२– सरिता प्रसाईं — नेपाली कांग्रेस, – धर्मशीला चापागाईं — नेकपा (नेकपा), – इन्दिरा रानामगर — राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)– चन्द्रकुमारी गारु — श्रम संस्कृति पार्टी,– अमृता लावती — सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च । (झापा–२ मा सबैभन्दा धेरै महिला उम्मेदवार दर्ता भएका क्षेत्र)

झापा–५– मन्दरा चिमरिया — नेपाली कांग्रेस– रञ्जना गौतम— स्वतन्त्र उम्मेदवार– शोभा भण्डारी – स्वतन्त्र उम्मेदवार

– झापा–१ मा निशा डाँगी — रास्वपालगायत अन्य थुप्रै महिलाको नेतृत्व देखिन्छ। झापाको सन्दर्भमा, यहाँको महिला नेतृत्वले स्थानीय तहदेखि सामाजिक आन्दोलनसम्म उल्लेखनीय योगदान दिँदै आएको छ।

शिक्षा, सहकारी, कृषि, स्वास्थ्य, पत्रकारिता र राजनीतिक सङ्गठनमा सक्रिय झापाली महिलाले नेतृत्व क्षमताको प्रमाण बारम्बार दिएका छन्। आज प्रतिनिधिसभा निर्वाचनमा चारै क्षेत्रमा महिला उम्मेदवारी देखिनु झापाको राजनीतिक चेतना, सामाजिक परिपक्वता र भविष्यप्रतिको आशाको सङ्केत हो।

यो उम्मेदवारी केवल व्यक्तिगत महत्वाकांक्षा होइन, सम्पूर्ण महिला समुदायको आत्मविश्वास र आवाज हो।

अब आवश्यक छ—दल, समाज र मतदाताले महिला उम्मेदवारलाई करुणा वा प्रतीकको रूपमा होइन, योग्य नेतृत्वकर्ताको रूपमा मूल्याङ्कन गर्नु।

महिला नेतृत्वलाई अवसर दिनु भनेको कुनै वर्गलाई उपकार गर्नु होइन, राष्ट्रलाई सक्षम हातमा सुम्पनु हो।

झापाबाट उठेको यो सकारात्मक सङ्केतले राष्ट्रिय राजनीतिमा नयाँ संस्कृति बसालोस्, जहाँ नेतृत्व लिङ्गले होइन, दृष्टि, इमानदारी र क्षमताले तय गरोस्।

अन्ततः समृद्ध नेपालका लागि आधा आकाशलाई नेतृत्वबाट टाढा राखेर उड्न सकिँदैन। झापामा देखिएको महिला उम्मेदवारीको यो उज्यालो कदम इतिहासमा केवल खबर बनेर होइन, परिवर्तनको यात्राको सुरुवात बनेर अङ्कित होस्—यही कामना !

(लेखक साहित्यकार, सामाजिक अभियन्ता र सबल सञ्चारकर्मी हुन)

आलेख झापा निर्वाचन लीला अनमोल