

काठमाडौं । निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। निर्वाचन आयोग ले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदान मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा कारोबार र सेवनमा रोक लगाइएको जनाएको छ।
आयोगका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। सोहीअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ बमोजिम सुरक्षा योजना लागू गर्दै मदिरा नियन्त्रणको निर्णय कार्यान्वयनमा ल्याइएको हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अन्य सुरक्षा व्यवस्थासमेत कडाइका साथ लागू गरिने आयोगले जनाएको छ।
यस्तै, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध हुने छ। गृह मन्त्रालय ले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन निर्देशन दिएको छ।
जिल्ला आचारसंहिता अनुगमन समितिलाई समेत सक्रिय बनाइने भएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ अनुसार निषेधित गतिविधि भए तत्काल कारबाही गरी आयोगलाई जानकारी गराइने जनाइएको छ।
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लाग्नेछ। यो व्यवस्था फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म लागू हुनेछ।
एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी भने सञ्चालनमा रहनेछन्।
निर्वाचन आयोग



