

काठमाडौं । हिन्द महासागर क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य टकराव थप चुलिएको छ। अमेरिकी पनडुब्बीबाट टर्पेडो प्रहार गरी इरानको युद्धपोत ‘आइआरआइएस डेना’ डुबाइदिएको अमेरिकी पक्षले दाबी गरेको छ।
अमेरिकी रक्षामन्त्रीले अन्तर्राष्ट्रिय जलक्षेत्रमा सञ्चालनमा रहेको उक्त युद्धपोतलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्। उनका अनुसार आक्रमणमा परी करिब ८० जना इरानी नौसैनिकको मृत्यु भएको छ।
श्रीलङ्काली अधिकारीहरूका अनुसार डुबेको जहाजबाट ३२ जना घाइते सैनिकको उद्धार गरिएको छ भने अन्यको खोजी कार्य जारी छ। जहाजमा करिब १८० जना नौसैनिक सवार रहेको जनाइएको छ। घटना श्रीलङ्काको गाले सहरबाट करिब ४० नटिकल माइल टाढा अन्तर्राष्ट्रिय जलक्षेत्रमा भएको बताइएको छ।
उक्त युद्धपोत भारतको विशाखापट्टनममा आयोजित ‘इन्टरनेसनल फ्लीट रिभ्यु–२०२६’ मा सहभागी भएर स्वदेश फर्किंदै थियो।
यसैबीच, अमेरिकाले दुवईस्थित आफ्ना वाणिज्य दूतावासमा इरानबाट ड्रोन आक्रमण भएको जनाएको छ। सार्वजनिक भिडियो फुटेजमा दूतावास परिसर नजिकै विस्फोट र आगलागी भएको देखिएको उल्लेख गरिएको छ।
त्यसैगरी, इरानले कतारस्थित अमेरिकी वायुसेनाको आधार शिविरमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। कतारले दुईमध्ये एक क्षेप्यास्त्रलाई आकासमै निष्क्रिय पारेको र अर्को आधार क्षेत्रमा खसे पनि मानवीय क्षति नभएको जनाएको छ।
यता इजरायली सेनाले तेहरानस्थित रिभोलुसनरी गार्ड्सका मुख्यालय, क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा रक्षा प्रणालीहरूमा दर्जनौँ आक्रमण गरेको दाबी गरेको छ।
समग्र घटनाक्रमले मध्यपूर्व तथा हिन्द महासागर क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको देखिएको छ।
अमेरिका इरान युद्ध



