

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता केन्द्र प्रवेशका लागि निर्वाचन आयोगले ६ प्रकारका कागजात मान्य हुने जानकारी दिएको छ।
मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा मतदाता नेपाली नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जा मध्ये कुनै एकको सक्कल प्रतिलाई प्रयोग गरेर मतदान गर्न सक्ने आयोगले स्पष्ट पारेको छ।
निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयले प्रशिक्षण दिएको छ भने अन्य कर्मचारीलाई मतदान अधिकृतले प्रशिक्षण गरी केन्द्रमा खटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कूल दुई लाख २१ हजार कर्मचारी खटिएका छन्। ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ मतदान केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा कर्मचारी परिचालन गरिएको छ। ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था गरिएको छ।
निर्वाचन आचारसंहिता लागू गर्दै जिल्लाका आचारसंहिता अनुगमन समितिले आवश्यक संयन्त्र परिचालन गरी निषेधित कार्य हुन नदिने, भएमा तत्काल कारबाही गरी आयोगमा जानकारी गराउने व्यवस्था मिलाएको छ।
आयोगले मतदानको सात दिनअघि देखि अन्तिम परिणाम सार्वजनिक नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने पनि निर्देशन दिएको छ। मतदानको दिन अत्यावश्यक सेवा र पास प्राप्त सवारीबाहेक सबै सार्वजनिक तथा निजी सवारीको सञ्चालनमा रोक लगाइनेछ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने सामान्यतया यथावत् रहनेछ। हवाई टिकटधारी यात्रुलाई विमानस्थलदेखि आवासस्थल र आवासस्थलदेखि विमानस्थलसम्म सम्बन्धित एयरलाइन्सले व्यवस्था गरेको सवारी प्रयोग गर्न अनुमति दिइनेछ।
निर्वाचन सुरक्षा निर्देशिका, २०८२ अनुसार मितिभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने तयारी सम्बन्धमा गृह मन्त्रालयलाई सिफारिस गरिएको छ।
निर्वाचन पर्यवेक्षणका लागि आयोगले ४१ संस्थालाई अनुमति दिएको छ भने करिब पाँच हजार पर्यवेक्षकका लागि परिचयपत्र जारी भइसकेको छ।
निर्वाचन निर्वाचन आयोग



