



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू नयाँ सरकार गठनको छलफलमा जुटेका छन् ।
आम निर्वाचन २०८२ बाट १८२ सिट जितेर संसद्को पहिलो दल बनेपछि रास्वपाका नेताहरू बिहीबार पहिलो पटक सरकार गठनका लागि एक ठाउँमा भेला भएका हुन् ।
काठमाडौँको एक होटलमा बिहीबार अपरान्ह पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र उपसभापतिद्वय डीपी अर्याल एवम् डा.स्वर्णिम वाग्ले सरकार गठनको छलफलमा जुटेका हुन् ।
साढे ४ बजेबाट सुरु भएको छलफल बेलुकी ६ बजे टुङ्गिएको स्रोतले बतायो । ‘हामीले करिब डेढ घण्टा छलफल गयौँ । चुनावी समीक्षा देखि नयाँ सरकार गठन र सुशासनको मुद्धाको सम्बोधन गर्ने खाकाबारे घनिभूत छलफल भयो,’ रास्वपाका ति उच्च नेताले भने,‘अब नियमित रुपमा शीर्षस्थ नेताहरू बसेर सरकारको प्रारूप तय गर्दै जानेछौँ ।’
ति नेताकाअनुसार बिहीबारको भेटमा मन्त्रिमण्डल गठन, त्यसको आकार, मन्त्रीका आकाङ्क्षीको व्यवस्थापन र पहिलो मन्त्रिपरिषद् बैठकको एजेण्डा लगायतका विषयमा पनि नेताहरू बीच छलफल भएको छ ।
आज मात्रै निर्वाचन आयोगले समानुपातिक ११० सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दै आम निर्वाचन २०८२ को प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको थियो ।
प्रतिवेदन बुझाएसँगै अब सरकार गठनको बाटो खुलेको छ । नेपालको संविधान २०७२ को धारा ७६ एक अनुसार अब राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्नेछन् । रास्वपाले १८२ सांसदसहित स्पष्ट रुपमा बहुमत प्राप्त गरेको छ । सिधाकुराबाट
बालेन शाह रवि लामिछाने रास्वपा



