Logo
१८ वैशाख २०८३, शुक्रबार

चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै बालेन, १८ सदस्यीय मन्त्रिपरिषद बनाउन रास्वपाको तयारी तीव्र

अक्षरपाटी
२०८२ चैत्र ६ , शुक्रबार १०:०३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको तयारी तीव्र बनाउँदै १८ सदस्यीय मन्त्रिपरिषद बनाउने गृहकार्य अघि बढाएको छ।

पार्टीका अनुसार सकेसम्म सानो आकारको मन्त्रिपरिषद बनाउने लक्ष्यसहित १८ वा सोभन्दा कम सदस्यीय टोली बनाउने विषयमा आन्तरिक छलफल भइरहेको छ। यसक्रममा केही मन्त्रालय गाभ्ने वा एउटै मन्त्रीलाई दोहोरो जिम्मेवारी दिने विकल्पसमेत छलफलमा रहेको बताइएको छ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी ले मन्त्रिपरिषदको आकार र सदस्यहरूको नामावली अझै टुंगो नलागेको जानकारी दिए। उनले आवश्यक परे थप परामर्शपछि अन्तिम निर्णय लिइने बताए।

उनका अनुसार चैत १३ गते बालेन शाह ले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। सोही अवसरमा सबै मन्त्रीहरूलाई पनि एकैसाथ शपथ गराउने तयारी भइरहेको छ।

बुर्लाकोटीले विधान संशोधन नगरी नै बालेनलाई संसदीय दलको नेता चयन गर्ने तयारी भइरहेको पनि बताए। पार्टीभित्र प्रधानमन्त्री बनाउने विषयमा राजनीतिक सहमति भइसकेको दाबी उनले गरे।

यसअघि पुस १३ गते रास्वपा र काठमाडौंका तत्कालीन मेयर पक्षबीच भएको एकताका क्रममा शाहलाई भावी प्रधानमन्त्री बनाउने सहमति बनेको थियो।

त्यसैगरी, चैत १२ गते सांसदहरूको शपथपछि संसदीय दलको बैठक बोलाइने तयारी गरिएको छ। उक्त बैठकमा दलको नेता चयनबाहेक अन्य विषयमा छलफल हुने बताइएको छ।

बालेन शाह रवि लामिछाने रास्वपा