Logo
१५ चैत्र २०८२, आईतबार

दुई सय टन उत्पाद क्षमतासहित धनगढीमा ६८ करोडको तेल उद्योग खुल्दै

अक्षरपाटी
२०८२ चैत्र ९ , सोमबार ०८:०३ मा प्रकाशित

काठमाडौं। एक स्थानीय उद्यमीले धनगढीमा निजी लगानीमा दैनिक दुई सय टन उत्पादन क्षमताको तेल उद्योग सञ्चालनमा ल्याउने भएका छन्।

भागेश्वर रिफाइनरी आयल इन्डष्ट्रिजका नाममा स्थापना हुनलागेकाे उद्योगकाे लागत ६८ करोड ६० लाख अनुमान गरिएको छ।

सन् २०२४ मा स्थापना भएको भागेश्वर रिफाइनरी आयल इन्डष्ट्रिजलाई स्तरोन्तति गर्न लागिएको कम्पनीका प्रवन्धक टेकबहादुर बोगटीले जानकारी दिए।

उद्योगले सोयाबिन, सूर्यमुखी तथा पामोलिन तेल उत्पादन गर्नेछ उनले बताए। परियोजनाको कुल लागतको ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत संस्थापकको स्वपुँजी रहने बताइएको छ।

हाल उद्योगको भौतिक पूर्वाधार निर्माण प्रारम्भिक चरणमै रहेको प्रवन्धन बोगटीले जानकारी दिए।

विशेषगरी भारतको भन्सार नीतिमा आएको परिवर्तन र साफ्टा अन्तर्गत प्राप्त सहुलियतका कारण नेपाली उद्योगहरूले कच्चा तेल आयात गरी प्रशोधन गरेर भारत निर्यात गर्न थालेका हुन्।

जसका कारण अर्बौं रुपैयाँ बराबरको खाने तेल भारततर्फ निर्यात हुँदै आएको छ र यसको परिमाण क्रमशः बढ्दो छ। यसले खाद्य तेल प्रशोधन क्षेत्रमा निजी क्षेत्रको आकर्षण उल्लेख्य रूपमा बढाएको देखिन्छ।

याे उद्योग धनगढी भारत–नेपाल सीमाबाट करिब १० किलोमिटर दूरीमा रहेको छ।

कच्चा पदार्थ विभिन्न देशबाट आयात भई भारतीय बन्दरगाहमार्फत आउने भएकाले सीमासँग नजिक हुँदा ढुवानी लागतमा बचत हुने अपेक्षा गरिएको छ। प्रशोधित तेल भारतमै निर्यात गर्न सहज र कम खर्चिलो हुने उद्योगको अपेक्षा छ।

प्रवन्धक बोगटी कृृषि, उत्पादन र व्यापार क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि अनुभव भएका व्यवसायी हुन्।

उनले यसअघि भगेस्वर सुगर एण्ड केमिकल, भगेस्वर एग्रो इन्डस्ट्रिज तथा भगेस्वर फ्लोर मिलजस्ता उद्योगहरू सञ्चालन गरिसकेका छन्।

तेल उद्योग भागेश्वर रिफाइनरी