Logo
१५ चैत्र २०८२, आईतबार

जनतालाई प्रत्याभूत हुनेगरी काम गर्छाैँ : सामान्य प्रशासन मन्त्री रावल

अक्षरपाटी
२०८२ चैत्र १३ , शुक्रबार ०५:०३ मा प्रकाशित

काठमाडौं । सामान्य प्रशासन तथा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले पदभार सम्हालेकी छन्।

आज गठित बालेन नेतृत्वको मन्त्रिपरिषद्मको सदस्य रावलले जिम्मेवारी सम्हाल्दै प्रशासनिक सुधार, पारदर्शिता र जनताले अनुभूति गर्नेगरि सेवा प्रवाह गर्नु आफ्नाे प्राथमिकतामा रहेको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सहप्रवक्ता रहेकी रावल कञ्चनपुरबाट समानुपातिक सांसद हुन्। उनीसँग सञ्चार क्षेत्रमा लामो समय काम गरेको अनुभव मात्र होइन विभिन्न सामाजिक, प्रशासनिक र नीतिगत विषयमा गहिरो अध्ययन–अनुसन्धान गर्ने कुशल अनुसन्धाताका रूपमा समेत चिनिन्छिन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री रावलले कर्मचारीतन्त्र सुधारका लागि स्पष्ट योजना रहेको बताइन्। ‘प्रशासनलाई चुस्त, पारदर्शी र जनउत्तरदायी बनाउनु मेरो मुख्य लक्ष्य हो,’ उनले भनिन्।

सहकारी क्षेत्रमा देखिएका समस्याप्रति आफू जानकार रहेको उल्लेख गर्दै उनले समाधानका लागि समन्वयात्मक ढंगले अघि बढ्ने बताइन्।

‘समस्याग्रस्त सहकारीका विषयमा म जानकार छु,’ मन्त्री रावलले भनिन्, ‘समस्या समाधानका लागि के गर्न सकिन्छ र कसरी अघि बढ्न सकिन्छ, सबैसँग सहकार्य गरेर अगाडि बढ्छौँ।’

उनले आफू कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने भएकाले भूमिहीनका समस्याबारे राम्ररी जानकार रहेकाे बताइन्।

भूमि व्यवस्थापन र गरिबी निवारणका कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउँदै लक्षित वर्गलाई सिधा लाभ हुने गरि काम गर्ने बताइन्।

प्रतिभा रावल सामान्य प्रशासन