Logo
४ वैशाख २०८३, शुक्रबार

बिपीनगरमा इलाका प्रशासन कार्यालय उद्घाटन, दक्षिणी डाेटीका नागरिकलाई सहज

अक्षरपाटी
२०८३ वैशाख २ , बुधबार ०६:०४ मा प्रकाशित

डोटी। डोटी जिल्लाको बिपीनगरमा इलाका प्रशासन कार्यालय उद्घाटन गरिएको छ। नेपाल सरकार, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रमको सभापतित्व प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले गरेकी थिइन्।

उद्घाटन समारोहमा बोगटान गाउँपालिकाका अध्यक्ष कमल गडसिला, जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरव साउद, वडा नं. १ का अध्यक्ष डबल बहादुर बोहरा तथा नेपाली कांग्रेसका महासमिति सदस्य एवं स्थानीय अगुवा पदमराज जोशीलगायतको उपस्थितिथियो।

वक्ताहरूले इलाका प्रशासन कार्यालय स्थापना हुनु यस भेगका बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। यसबाट सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै वक्ताहरूले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता अत्यावश्यक सेवा अब स्थानीय स्तरमै उपलब्ध हुने भएकाले सर्वसाधारणले जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए। यसले समय, आर्थिक व्ययभार र झमेला घटाउने मात्र नभई सरकारी सेवामा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

इलाका प्रशासन कार्यालय स्थापनाका लागि स्थानीय तहदेखि केन्द्रसम्म निरन्तर पहल गरेकोमा कार्यक्रमका सहभागीहरूले पदमराज जोशीको भूमिकाको प्रशंसा गरेका थिए।

लामो समयदेखि शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा सामाजिक उत्थानका क्षेत्रमा सक्रिय जोशीले विभिन्न सरकारी निकाय, सामाजिक संस्था तथा कूटनीतिक नियोगमार्फत पहल गर्दै यस क्षेत्रकाे विकास उल्लेख्य योगदान गरेकाे चर्चा गरिएको थियो।

स्थानीय बासिन्दाका अनुसार यो कार्यालय सञ्चालनमा आएपछि डोटीको दक्षिणी भेग अन्तर्गत पर्ने जोरायल, बोगटान र आसपासका क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ। दुर्गम भूगोलका कारण सेवा लिन सदरमुकाम पुग्नुपर्ने समस्या भोग्दै आएका नागरिकका लागि यो कदम ऐतिहासिक उपलब्धि मानिएको छ।

आजैदेखि सेवा सञ्चालनमा आएको इलाका प्रशासन कार्यालयले प्रारम्भिक चरणमै आधारभूत प्रशासनिक सेवा प्रदान गर्न थालेको छ।

बिपीनगर

ट्रेन्डिङ ( साप्ताहिक )