



काठमाडौं। नबिल बैंक लिमिटेडले ग्राहकको गोपनीयता भंग गरेको भन्ने आरोप आधारहीन र भ्रामक भएको जनाएको छ।
केही दिनयता सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा बैंकले ग्राहकको कारोबारसम्बन्धी सूचना चुहावट गरेको भन्ने दाबी सार्वजनिक हुँदै आएको छ। तर बैंकले उक्त सूचना र समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यो केबल दुष्प्रचार मात्रै भएको दाबी गरेको छ।
यसले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने बैंकको भनाइ छ। वैशाख ९ गते एक राष्ट्रिय दैनिकमा प्रकाशित ‘गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरू’ शीर्षकको समाचारमा ‘अनुसन्धानरत निकायबाट प्राप्त बैंकिङ कारोबार विवरण’ उल्लेख गरिएको तथ्यलाई आधार मान्दै केही व्यक्तिहरूले बैंकलाई लक्षित गरी गलत निष्कर्ष निकालिएको बैंकको भनाइ छ।
ग्राहकको व्यक्तिगत विवरण ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रिया पूरा गरी माग गर्ने नियामक तथा अनुसन्धान निकायबाहेक अन्य कसैलाई उपलब्ध नगराइने बैंकले स्पस्ट पारेको छ।
यस प्रकारको कुनै पनि कार्य बैंकबाट नभएको दाबी गर्दै आफ्नो कोर बैंकिङ प्रणालीमार्फत प्रत्येक सूचना पहुँचको अभिलेख सुरक्षित रूपमा राखिने जानकारी समेत दिएको छ।
चार दशकभन्दा बढी इतिहास बोकेको बैंकले प्रचलित कानून, नियमन र आन्तरिक नीति अनुरूप ग्राहक गोपनीयता कायम राख्दै आएको उल्लेख गर्दै यस्ता आरोपहरू पूर्ण रूपमा निराधार रहेको स्पष्ट पारेको छ।
नबील बैक



