Logo
३१ वैशाख २०८३, बिहीबार

संसदमा प्रधानमन्त्री बालेनको उपस्थितिमाथि अन्योल, प्रि–बजेट छलफल प्रभावित हुने संकेत

अक्षरपाटी
२०८३ वैशाख ३१ , बिहीबार १०:०५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा पुगेर जवाफ दिने विषय अझै टुंगो लाग्न सकेको छैन ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री संसदमा जानेबारे अहिलेसम्म कुनै निश्चित कार्यक्रम बनेको छैन ।

बुधबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रधानमन्त्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले लाई जिम्मेवारी दिएका थिए । संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षीसहित विभिन्न दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने माग गर्दै विरोध जनाएका थिए ।

यद्यपि संसद नियमावलीअनुसार प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने व्यवस्था रहेको भन्दै अर्थमन्त्री वाग्लेले संसदमा नीति तथा कार्यक्रम पेश गरेका थिए । तर श्रम संस्कृति पार्टीले प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने अडान राख्दै संसद बैठक बहिष्कार गरेको थियो ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रम टेबल गर्न दिए पनि छलफल सुनेर प्रधानमन्त्रीले स्वयं जवाफ दिनुपर्ने माग राख्दै संसद अवरोध गरेपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्रीको अनुपस्थितिका कारण सरकारको नीति तथा कार्यक्रममाथिको छलफल मात्रै होइन, आगामी बजेट प्रक्रियासमेत प्रभावित हुने देखिएको छ । संविधानअनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते संघीय बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअघि संसदमा प्रि–बजेट छलफल सुरु गर्नुपर्ने संसदीय अभ्यास रहेकाले त्यसअघि नीति तथा कार्यक्रम पारित हुन आवश्यक मानिन्छ । तर प्रधानमन्त्री संसदमा उपस्थित नभएपछि उत्पन्न राजनीतिक विवादका कारण नीति तथा कार्यक्रममाथिको छलफल नै अवरुद्ध बनेको छ ।

बालेन शाह

ट्रेन्डिङ ( साप्ताहिक )