Logo
३१ वैशाख २०८३, बिहीबार

प्रधानमन्त्री बालेन संसदमा नजाने, नीति कार्यक्रमको जवाफ अर्थमन्त्रीले दिने

अक्षरपाटी
२०८३ वैशाख ३१ , बिहीबार ११:०५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री वालेन शाह आज पनि संसदमा उपस्थित नहुने भएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शाह स्वयंले नदिने भएका हुन् ।

संसद सचिवालयले कार्यसूची परिवर्तन गर्दै प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा जवाफ दिने उल्लेख गरेको छ।

यसअघि बिहान सार्वजनिक गरिएको कार्यसूचीमा प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने उल्लेख थियो । तर केही समयपछि संशोधित कार्यसूची जारी गर्दै अर्थमन्त्री वाग्लेलाई जवाफ दिने जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री संसदमा उपस्थित नहुने निर्णयसँगै राजनीतिक विवाद झन् चर्किने संकेत देखिएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने र छलफलको जवाफ पनि आफैं दिनुपर्ने माग गर्दै दिनभर संसद अवरोध गरेका थिए।

संसदमा जारी अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका थिए । तर त्यसपछि पनि प्रधानमन्त्री संसदमा उपस्थित हुन तयार नभएको स्रोतको भनाइ छ।

प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सरकारको जवाफदेहितामाथि प्रश्न उठाइरहेका छन् भने संसदको आगामी प्रक्रिया थप प्रभावित हुने सम्भावना बढेको छ ।

बालेन शाह