



काठमाडौं । प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीअनुसार अघि बढिरहेका बेला एक अप्रत्याशित दृश्य देखियो। सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरिरहँदा प्रधानमन्त्री बालेन शाहले हात उठाएर बोल्ने संकेत गरेपछि सदनमा केहीबेर चासो बढेको थियो।
सुरुआतमा सभामुखले तत्काल बोल्न अनुमति नदिए पनि पछि प्रधानमन्त्रीले बोल्ने इच्छा व्यक्त गरेको जानकारी गराउँदै रोष्ट्रम प्रयोग गर्न अनुमति दिए। सभामुखले भने, ‘प्रधानमन्त्रीज्यूले हात उठाउनुभएकोले उहाँलाई रोष्ट्रम प्रयोग गर्न अनुमति दिएको छु।’
रोष्ट्रममा पुगेपछि प्रधानमन्त्री शाहले सांसदहरूले लामो समयदेखि आफूलाई प्रश्न गर्न चाहिरहेको उल्लेख गर्दै त्यसका लागि आफू तयार रहेको बताए। उनले जनप्रतिनिधिहरूका जिज्ञासा, प्रश्न र चासोका विषयमा प्रत्यक्ष जवाफ दिन इच्छुक रहेको धारणा राखे।
प्रधानमन्त्रीको संसद उपस्थितिलाई लिएर विपक्षी दलहरूले लामो समयदेखि आवाज उठाउँदै आएका थिए। तर आइतबारको बैठकको कार्यसूचीमा प्रधानमन्त्रीको सम्बोधन वा प्रश्नोत्तर कार्यक्रम समावेश थिएन। यद्यपि कार्यसूचीबाहिरै प्रधानमन्त्री रोष्ट्रममा पुगेपछि सदनमा केहीबेर उत्सुकता, चर्चा र राजनीतिक तरंग पैदा भएको थियो।
प्रधानमन्त्रीको यो अप्रत्याशित कदमलाई संसदभित्रको माहोल परिवर्तन गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।
प्रधानमन्त्री बालेन शाह बालेन शाह रास्वपा



