Logo
१६ असार २०८३, मंगलबार

धनगढीबाट काठमाडौँ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते

अक्षरपाटी
२०८३ असार १६ , मंगलबार १०:०६ मा प्रकाशित

कपिलवस्तु । धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटा निवासी ४२ वर्षीय हरिसिंह महरा सहित २२ जना घाइते भएका छन्।

घाइतेहरूमा बैतडीको सिवास गाउँपालिका–६ खालाकाँडा बस्ने २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका–५ दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका–२ बस्ने ५५ वर्षीया सीतादेवी बादी, डडेलधुरा बस्ने २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, बझाङको थलारा गाउँपालिका–५ बस्ने २३ वर्षीय विनोद सत्कुली, बैतडी पुरचौडी नगरपालिका–८ मल्लादोही बस्ने १५ वर्षीय लोचन विष्ट, उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट घाइते भएका छन्।

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, घोडाघोडी नगरपालिका–६ जवलपुर बस्ने २४ वर्षीय अखिलकुमार ठडिया, चितवन भरतपुर महानगरपालिका–२६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र, कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने २४ वर्षीय गोपाल पौडेल, डडेलधुरा गाउँपालिका–१ बस्ने ४० वर्षीय केशबहादुर देउवा, दार्चुलाको नौगाड गाउँपालिका–४ सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, घोडाघोडी नगरपालिका–९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया, बझाङको थलारा गाउँपालिका–५ बस्ने २३ वर्षीय किश्वर बोहोरा तथा डडेलधुरा गन्यापधुरा गाउँपालिका–३ बस्ने ४० वर्षीया पार्वती बोहोरा रहेका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूको जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।

दुर्घटनाका बेला बसमा चालकसहित ४६ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइते नभएका २४ यात्रुलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

कपिलवस्तु बस दुर्घटना

ट्रेन्डिङ ( साप्ताहिक )