


काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी प्रदेशका विकास आयोजना, पूर्वाधार, कृषि तथा जनजीविकासँग जोडिएका विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको छलफलमा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद् र जनतामाझ प्रभावकारी रूपमा जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या र सुदूरपश्चिमका समग्र विकाससँग सम्बन्धित योजनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले गेटा विश्वविद्यालय सञ्चालन, कैलाली–कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढी–खुटिया–दिपायल फास्ट ट्र्याकको निर्माण, विद्युतीकरण, सडक दुर्घटना न्यूनीकरण, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र पश्चिम सेती जलविद्युत् आयोजना अघि बढाउन सरकारको सक्रियता आवश्यक रहेको बताएका थिए।
यस्तै, भन्सार व्यवस्थापनका समस्या, आरक्षपीडितको पुनःस्थापना, हुलाकी राजमार्गको निर्माण, किसानका लागि धान खरिद–बिक्रीको व्यवस्था तथा दोधारा–चाँदनी क्षेत्रमा नदी कटान नियन्त्रणका विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँगको छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, ज्ञानेन्द्र महता, जगत जोशी र केपी खनाल सहभागी थिए।
प्रधानमन्त्री वालेन्द्र शाह

