Logo
१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढीपीडितलाई प्रधानमन्त्रीको अपिल : ‘तपाईँहरु एक्लाे हुनुहुन्न, सरकार साथमा छ’

अक्षरपाटी
२०८३ भदौ १० , बुधबार ०८:०८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि सरकार सम्पूर्ण शक्ति र स्रोतका साथ लागेको बताएका छन्।

देशवासीका नाममा अपिल गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको दुःखद खबर प्राप्त भएको उल्लेख गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

उनले प्राकृतिक विपद्ले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको र सिङ्गो देश नै स्तब्ध तथा मर्माहत बनेको बताएका छन्। प्रधानमन्त्री शाहले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस कठिन घडीमा सरकार र सम्पूर्ण देशवासी पीडित परिवारको साथमा रहेको विश्वास दिलाए।

प्रधानमन्त्रीका अनुसार बाढीको जानकारी प्राप्त हुनासाथ सरकारका सम्पूर्ण संयन्त्रलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने सम्बन्धमा महत्वपूर्ण निर्णय गरिएको उनले जानकारी दिएका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई तत्काल परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेको प्रधानमन्त्री शाहले बताए। उद्धार गरिएकामध्ये घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको पनि उनले जानकारी दिए।

घाइतेहरूको सहज तथा निःशुल्क उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको छ। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आवश्यक परेको अवस्थामा घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमै मेडिकल टोली परिचालन गरी प्राथमिक उपचार तथा उद्धारको काम भइरहेको बताएका छन्। राष्ट्रिय ट्रमा सेन्टर र विभिन्न सुरक्षा निकायबाट चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाइएको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको उनले बताए।

आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटलगायत संघसंस्थासँग निरन्तर समन्वय भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

उनका अनुसार प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग समेत परामर्श गरी स्थानीयस्तरमा आवश्यक सहयोग पुर्‍याउने काम भइरहेको छ। बेपत्ता नागरिकको खोजी तथा घाइते र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य निरन्तर जारी रहेको उनले बताए।

प्रधानमन्त्री शाहले आज रातभर पनि उद्धार कार्य जारी रहने स्पष्ट पार्दै नागरिकको ज्यान बचाउने, बेपत्ता भएकाको खोजी गर्ने र प्रभावितलाई सुरक्षित स्थानमा पुर्‍याउने कार्य सरकारको पहिलो प्राथमिकता रहेको बताए।

बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएको बताइएको छ। ती क्षेत्रमा पीडित परिवारसम्म तत्काल खानेकुरा, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था पुर्‍याइने प्रधानमन्त्री शाहले बताएका छन्।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी आयोजनालाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काउने प्रतिबद्धता पनि सरकारले जनाएको छ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने बताइएको छ।

प्रभावित नागरिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भनेका छन्, ‘तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूसँगै छ।’

उनले उद्धार, उपचार, खानपिन तथा बसोबासको जिम्मेवारी सरकारले लिने विश्वास दिलाउँदै पीडितलाई धैर्य धारण गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले विपद्को यस घडीमा सबै नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारद्वारा सञ्चालन भइरहेको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न हार्दिक अपिल गरेका छन्।

‘हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन हामी सबै एक ढिक्का भएर अघि बढौँ,’ प्रधानमन्त्री शाहले अपिलमा भनेका छन्।

प्रधानमन्त्री बालेन शाह भोटेकोशी बाढी