


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मुलुकले विगत पाँच दिनदेखि भोगिरहेको प्राकृतिक विपद्को सामना गर्न सम्पूर्ण राज्य संयन्त्र युद्धस्तरमा परिचालन गरिएको बताएका छन्।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिम मोलेर पनि नागरिकको जीवनरक्षालाई सरकारले सर्वोच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहको भनाइ छ।
आइतबार आम नागरिकका नाममा अपिल गर्दै प्रधानमन्त्री शाहले आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाएका नागरिकको पीडा सरकारका लागि अत्यन्तै संवेदनशील विषय भएको बताएका छन्।
उनले भनेका छन्, ‘नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो। यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौं।’
९ हजार ४३५ जनाको उद्धार
सरकारका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। राहत तथा उद्धारका लागि आइतबारसम्म थप ७२ सहित ३९४ उडान भइसकेका छन्।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
विद्युत् आयोजना क्षेत्रमा मात्रै नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।
सुरुङभित्र उद्धार टोली
नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धार प्रयास तीव्र पारिएको छ। नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङमार्फत सुरुङ खोल्ने काम अघि बढाइरहेका छन्।
नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली घटनास्थलमा खटिएको छ। टोलीले सुरुङको मुख्य भागसम्म पुगेर २×३ फिटको प्वाल बनाएर भित्रबाट प्रतिक्रिया खोजेको भए पनि कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्रीको अपिलमा उल्लेख छ।
ठूला उपकरणको प्रयोग, ब्लास्टिङ र प्वाल फराकिलो बनाउने काम एकसाथ अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा पनि नेपाली सेना तथा विदेशी विशेषज्ञ टोलीको समन्वयमा खोजी तथा उद्धार भइरहेको जनाइएको छ। चिनियाँ, कोरियन र भारतीय विशेषज्ञ टोलीहरू समेत उद्धार कार्यमा संलग्न छन्।
२६७ घाइतेको उद्धार, १५६ जना डिस्चार्ज
बाढीबाट घाइते भएका २६७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको सरकारले जनाएको छ। तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंलगायतका स्थानबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।
५ अर्ब भन्दा बढी राहत कोषमा जमा
विपद् प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषमा सहयोग जुटिरहेको सरकारले जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार आइतबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको छ। हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर समेत जम्मा भएको जनाइएको छ।
सरकारले संकलित रकमलाई प्रभावकारी रूपमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रयोग गर्ने जनाएको छ।
२६ वटा राहत तथा आश्रयस्थल सञ्चालन
रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत पाएका छन्।
भारत र चीनबाट समेत उद्धार तथा राहत सामग्री प्राप्त भइरहेको सरकारले जनाएको छ।
अन्तर्राष्ट्रिय सहयोग बढ्दै
विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोगसमेत जुट्न थालेको छ। एसियाली विकास बैंकबाट ५ मिलियन अमेरिकी डलर अनुदान तथा १ लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहयोग, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको प्रधानमन्त्री शाहले बताएका छन्।
भारतबाट चार चरणमा ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। भारतले २३० फिटको सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाउनुका साथै थप सातवटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। चीनबाट पनि ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको छ।
सञ्चार सेवा पुनः सञ्चालनको प्रयास
बाढीका कारण अवरुद्ध सञ्चार सेवा क्रमशः पुनः सञ्चालनमा आउन थालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावित क्षेत्रमा २० वटा स्याटलाइट फोन पठाएको छ। नेपाल टेलिकम र एनसेलका अवरुद्ध अधिकांश टावर सञ्चालनमा आइसकेका छन्। बाँकी टावर पनि छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको सरकारले जनाएको छ।
सडकमा सकस
बाढी तथा पहिरोका कारण मुख्य सडकमा क्षति पुगेपछि वैकल्पिक सडकमार्फत प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको छ। तर, भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो खस्ने क्रम जारी रहेकाले वैकल्पिक सडकसमेत प्रभावित भएका छन्।
कृष्णभीर क्षेत्रमा कटानका कारण यातायात सेवा अवरुद्ध भएको जनाउँदै सरकारले सडक सम्पर्क यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।
७८१ शव फेला
बाढी तथा पहिरोमा परी ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको प्रधानमन्त्रीको अपिलमा उल्लेख छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने र पहिचान हुन नसकेका शव कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम सुरु भएको सरकारले जनाएको छ।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा सबैको एकता र सामूहिक प्रयासबाट संकट पार गर्न सकिने बताएका छन्।
उनले प्रभावित प्रत्येक नागरिकसम्म राहत पुर्याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म सरकार निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको छ,’ प्रधानमन्त्री शाहले अपिलमा भनेका छन्।
प्रधानमन्त्री बालेन शाह भोटेकोशी बाढी विपद् तथा उद्धार

