



काठमाडौं । त्रिशूली र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अवरुद्ध सडक तथा जलविद्युत् आयोजनाको उद्धार कार्यलाई तीव्र पारिएको छ।
सडक डिभिजन नुवाकोटले क्षतिग्रस्त सडकको विकल्पमा विभिन्न चारवटा वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको छ भने माथिल्लो त्रिशूली–३ ए जलविद्युत् केन्द्रमा नेपाली सेनाले सुरुङभित्र पसेर उद्धार प्रयासलाई जारी राखेको छ।
सडक डिभिजन नुवाकोटका अनुसार पृथ्वी राजमार्ग–धादिङबेसी १५ किलोमिटर वैकल्पिक मार्ग, त्रिशूली पारी क्षेत्र जोड्ने ४० किलोमिटर मार्ग, देवीघाट–तादी खोला पुलको विकल्पमा ३५ किलोमिटर मार्ग र रसुवा आवतजावतका लागि १२ किलोमिटर वैकल्पिक सडक सञ्चालनमा ल्याइएको जनाएको छ।
वैकल्पिक मार्ग सञ्चालन भएपछि धादिङको गल्छी तथा सिद्धलेक, नुवाकोटका विदुर, तारकेश्वर, मेघाङ, बेलकोटगढी तथा सूर्यगढीलगायत प्रभावित क्षेत्रलाई पुनः यातायात सञ्जालमा जोड्ने प्रयास भएको छ। रसुवा खण्डमा भने सडक मर्मतको काम अझै जारी छ।
सडक डिभिजनले आपतकालीन उपकरण प्रयोग गरी पहिरो हटाउने, कल्भर्ट निर्माण गर्ने, सडक सतह सुधार तथा ग्राभेल राख्ने कामलाई निरन्तरता दिएको जनाएको छ।

यसैबीच, बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा उद्धार कार्य जारी छ। नेपाली सेनाले सुरुङको मुखबाट करिब १५ फिटभित्रको लेदाे हटाएर त्यहाँसम्म प्रवेश गर्न सफल भएको छ। थप भित्रसम्म पुगेर खोजी तथा उद्धार गर्ने प्रयास भइरहेको छ।
सुरुङभित्र जमेको पानीसमेत निरन्तरको प्रयासपछि निकास गर्न सम्भव भएको जनाइएको छ। खोज तथा उद्धार कार्यमा आवश्यक उपकरण, खाद्यान्न तथा अन्य सामग्रीको अभाव हुन नदिन बजेट र स्रोत व्यवस्थापनको निर्णयसमेत गरिएको छ।
त्यस्तै, सम्पर्कमा आएका र नआएका कर्मचारी तथा कामदारको विवरण अद्यावधिक गर्न तथा सम्पर्कविहीन कर्मचारीका परिवारको गुनासो सुन्न छुट्टै समन्वय समिति गठन गरिएको छ। केही आफन्तलाई क्षतिग्रस्त पावर हाउस साइटसम्म पुग्ने व्यवस्था पनि मिलाइएको छ।
बाढीबाट भएको क्षतिपछि सडकमार्ग पुनः सञ्चालनसँगै विद्युत् आपूर्ति पुन:सञ्चालन गर्ने र सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजीलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइएको छ।
त्रिशूली–३ ‘ए’ सुरुङ भोटेकोशी महाविपद्

