



काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताए। कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका राजदूत श्रीवास्तवसँग विदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे।
भेटका अवसरमा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गरे। सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद दिएका थिए।
करिब चार वर्ष नेपालमा राजदूतका रूपमा कार्यरत श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्। उनले २५ जुन २०२२ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए।
श्रीवास्तवको कार्यकालमा नेपाल–भारत ऊर्जा सहकार्यमा उल्लेखनीय प्रगति भएको थियो। नेपालबाट भारतमा दीर्घकालीन रूपमा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने समझदारी, बंगलादेशमा नेपाली विद्युत् निर्यातको बाटो खुल्नु तथा सीमापार पूर्वाधार र कनेक्टिभिटीमा सहकार्यलाई उनको कार्यकालका प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
व्यापार तथा जनस्तरको सम्बन्ध विस्तारमा पनि उनको कार्यकालमा निरन्तर संवाद र सहकार्य भएको थियो। नेपाल–भारत वाणिज्य तथा उद्योग संघले उनको कार्यकालमा बिजनेस क्लाइमेट सर्वे, इन्भेस्टमेन्ट गाइडबुक र आलु शिखर सम्मेलनजस्ता पहलमा सहकार्य भएको जनाएको छ।
पछिल्लो भोटेकोशी बाढीपछि भारतबाट खोज, उद्धार तथा राहत सामग्रीसहित प्राविधिक सहयोग उपलब्ध गराउन पनि श्रीवास्तवको कार्यकालमा समन्वय गरेका थिए। प्रधानमन्त्रीसँगको विदाई भेटसँगै श्रीवास्तव आफ्नो नेपाल बसाइ पूरा गरी भारत फर्किने छन्।
प्रधानमन्त्री वालेन्द्र शाह भारतीय राजदूत नवीन श्रीवास्तव

