Logo
२३ असोज २०८३, शुक्रबार

सशस्त्रका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस

अक्षरपाटी
२०८३ असोज २३ , शुक्रबार ११:१० मा प्रकाशित

काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न छानबिन समितिले सिफारिस गरेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेलको नेतृत्वमा भएको छानबिनपछि दाहाललाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको हो।

छानबिन समितिको सिफारिसअनुसार बर्खास्तसम्बन्धी आवश्यक कागजात गृह मन्त्रालयमा तयार भइरहेको स्रोतले जनाएको छ। दाहाललाई बर्खास्त गर्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाट हुने व्यवस्था छ।

दाहाल गत असोज १९ गते निलम्बनमा परेका थिए। उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका ज्वाइँ नाताका हुन्। जबरा असोज ११ गते बाँसबारीस्थित निवासबाट पक्राउ परेपछि दाहाल उनलाई भेट्न हिरासतमा पुगेका थिए।

दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत गतिविधि र समयतालिकासम्बन्धी सूचना निगरानी तथा चुहावट गरेको आरोप लागेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार जबराको मोबाइल फोनको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित सूचना तथा विवरण फेला परेका थिए।

त्यस्तै, विभिन्न मुद्दामा पक्राउ परी हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन जबराले गरेको भनिएको चलखेलमा समेत दाहालको भूमिका रहेको आशंका गरिएको स्रोतले जनाएको छ।

गत वर्ष जेन–जी आन्दोलनपछि विघटित प्रतिनिधिसभाको विघटनलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर रिट पनि विचाराधीन छ। उक्त रिटलाई आधार बनाएर सरकार ढाल्नेसम्मका गतिविधिमा जबरा सक्रिय रहेको र त्यसमा दाहालले सहयोगी भूमिका खेलेको विवरण छानबिनका क्रममा खुलेको सशस्त्र प्रहरी स्रोतको दाबी छ।

छानबिन समितिको सिफारिसपछि दाहाललाई बर्खास्त गर्ने प्रक्रिया अघि बढेको भए पनि मन्त्रिपरिषद्को अन्तिम निर्णयपछि मात्रै उनको सेवासम्बन्धी विषय टुंगो लाग्नेछ।

वंशीराज दाहाल सशस्त्र प्रहरी बल

ट्रेन्डिङ ( साप्ताहिक )