


काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले जुनसुकै ब्राण्डका एलपी ग्यास सिलिण्डर साट्न सकिने बिक्री केन्द्रको संख्या बढाएको छ। यसअघि आइतबारदेखि ६ स्थानबाट सुरु गरिएको सिलिण्डर साट्ने व्यवस्थालाई संघले आजदेखि थप पाँच स्थानमा विस्तार गरेको हो।
संघले सोमबार राति जारी गरेको विज्ञप्तिअनुसार काठमाडौं उपत्यकामा ग्यास सिलिण्डर साट्न उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले आजदेखि असोज ३० गते शुक्रबारसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट सिलिण्डर साट्न सकिने व्यवस्था गरिएको छ।
पछिल्लो समय भारतका विभिन्न रिफाइनरीबाट एलपी ग्यासको आयात बढे पनि बजारमा सिलिण्डर बिक्री वितरणमा समस्या देखिएको तथा उपभोक्ताबाट एउटा कम्पनीको ग्यास सिलिण्डर सहज रूपमा अर्को कम्पनीको सिलिण्डरसँग साट्न नपाइएको गुनासो आएपछि संघले यस्तो व्यवस्था गरेको जनाएको छ।
यी हुन् सिलिण्डर साट्ने ११ स्थान
संघका अनुसार काठमाडौं उपत्यकामा निम्न स्थानबाट जुनसुकै ब्राण्डका ग्यास सिलिण्डर साट्न सकिनेछः
सिफलचौर, काठमाडौं : ग्यास एन्ड अक्सिजन ट्रेडर्स
पेप्सीकोला, काठमाडौं
बालाजु : औद्योगिक क्षेत्रको गेट अगाडि
सुकेधारा : काठमाडौं
कलंकी, काठमाडौं : साईबाबा/श्रीकृष्ण
हरिसिद्धि, ललितपुर : श्रीराम
चपली, बुढानीलकण्ठ : भानु
हरिसिद्धि, ललितपुर : नेपाल/एचपी
कलंकी, काठमाडौं : गीता
आरके ट्रेडर्स, खसीबजार, कलंकी : सीताश्री
सतुंगल, काठमाडौं : श्रीमाया
संघले उल्लेखित स्थानमा काठमाडौं उपत्यकामा बिक्री वितरण गर्ने सदस्य उद्योगका ग्यास सिलिण्डर आपसमा साटफेर गर्न सकिने जनाएको छ। साथै, उल्लेखित बिक्री केन्द्रबाहेक अन्य स्थानमा सिलिण्डर साटफेर नगर्न पनि उपभोक्तालाई आग्रह गरेको छ।




