Logo
२६ असोज २०८३, सोमबार

सवारी दर्ता गर्दा अब अनिवार्य उपस्थिति हुनु नपर्ने

अक्षरपाटी
२०८३ असोज २६ , सोमबार ०७:१० मा प्रकाशित

असाेज २६ गते । तपाईँ सवारी दर्ता वा नामसारी गर्दै हुनुहुनेछ भने अब अनिवार्य उपस्थिति हुनु नपर्ने भएको छ। यसअघि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुनपर्ने प्राब्धानलाई सहज बनाइएको हो।

नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउनका लागि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ।

संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिने पूर्वाधार विकास मन्त्रालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

त्यसका लागि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का निम्न प्रब्धानहरु संसोधन गरिएको बताइएको छ।

संशोधित बुँदाहरू

डिलरबाट गरिएको जाँचलाई मान्यता : डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन।

वारेसनामामार्फत दर्ता तथा नामसारी : सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सक्नेछ।

बीमा तथा नवीकरणमा सहजता : सवारी साधनको बीमा वा बीमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन।

बायोमेट्रिकका लागि प्राविधिक पहुँच : सवारी साधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ।

उल्लेखित संशोधनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राहीमैत्री बनाउने अपेक्षा पूर्वाधार विकास मन्त्रालयले गरेको छ ।

पूर्वाधार विकास मन्त्रालय सवारी दर्ता

ट्रेन्डिङ ( साप्ताहिक )