Logo
२८ पुस २०८१, आईतबार

बालेनको प्रश्न : समस्या जति संघलाई नै भन्न पर्ने भए प्रदेश किन चाहियो ?

अक्षरपाटी
२०८१ पुस २८ , आईतबार ०२:०१ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले प्रदेश सरकारको भूमिकाबारे प्रश्न उठाएका छन् । आज आफूलाई भेट्न पुगेको बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको कुराकानीका क्रममा मेयर शाहले अहिलेकै अवस्थामा अधिकार लिने र दिनेगरी प्रदेश सरकारले आभास दिलाउन नसकेको गुनासो पोखे ।

‘आफूले संघबाट अधिकार लिनसक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभास हुन सकेन,’ मेयर शाहले भने । स्थानीय सरकारका समस्याहरू पनि संघ सरकारलाई नै भन्नुपर्ने भए प्रदेश सरकार किन चाँहियो ? भन्दै मेयर शाहले प्रश्न उठाएका छन् ।

‘सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ,’ मेयर शाहले थपे, ‘यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन ।’ प्रदेश सरकार अभिभावक भएर स्थानीय तहलाई सक्षम बनाउन लाग्नुपर्ने बताउँदै उनले उदार दृष्टिकोणको अपेक्षा राखेको मेयर शाहको सचिवालयले जनाएको छ ।

छलफलका क्रममा महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफूहरूले चाहेको विकासको ढाँचा अहिलेको जस्तो नभएको बताएकी छन् । ‘ब्याटमिन्टन कोर्ट बनाउने योजना छ । एक वर्षमा जमिन सम्याउने, अर्को वर्षमा पर्खाल लगाउने, तेस्रो बर्षमा कोर्ट बनाउने अहिलेको विकास पद्धति हो,’ उपमेयर डंगोलले भनिन्, ‘यदि योजना सञ्चालन गर्ने हो भने एकै पटक योजना पूरा गर्ने गरी बजेटको व्यवस्था गर्नुपर्छ । यसो हुन नसक्ने हो भने योजना कार्यान्वयनमा ल्याउन सकिँदैन ।’

बालेन शाह