टिमको आत्मविश्वास वृद्धि
काठमाडौं। क्रिकेट एसोसियन अफ नेपाल (क्यान) ले २०८१ मंसिर १५ गतेदेखि पहिलोपटक नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्यो।
![]()
अन्तर्राष्ट्रियस्तरमा निकै प्रख्यात स्पोर्ट च्यानल ‘स्टार स्पोर्ट्स’मार्फत प्रसारण गर्दै पुस ६ गतेसम्म भव्य रुपमा चलेको एनपीएलले त्यतिबेलै राम्रो प्रशंसा पायो।
कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा विदेशी ख्याति प्राप्त खेलाडीको उपस्थितिले प्रतियोगिताको उचाइ चुलिएको थियो।
भारतीय पूर्वक्रिकेटर शिखर धवनदेखि वेस्टइन्डिजका पूर्वक्रिकेटर ब्राइन लारासमेतको उपस्थितिले प्रतियोगिताको आकर्षण र उचाइँ बेग्लै बनेको थियो।
तीं ८ टिमका समर्थकहरु आ–आफ्ना टिमका जर्सीसहित क्रिकेट हेर्न प्रत्यक्ष उपस्थित भएका थिए।
ठूलो संख्यामा दर्शकहरुको उपस्थितिले एनपीएलको लोकप्रियता झनै उचाइमा पुगेको थियो।
टिम मालिकहरुले टिमका लागि गरेको खर्च, दर्शकले लिने टिकटदेखि विभिन्न स्पोन्सरले गरेको लगानीका कारण नेपाली क्रिकेटप्रेमी निकै उत्साहित थिए।
एनपीएलका लागि गरिएको खर्च, दर्शकको साथलगायत कारणले एनपीएल मात्रै नभएर नेपाली क्रिकेटकै लोकप्रियता अन्तर्राष्ट्रियस्तरमै चुलियो।
एनपीएलमा दर्शकले देखाएको अपार माया, लगानीकर्ताले गरेको लगानीकै कारण नेपाली क्रिकेट क्षेत्रमा मात्रै नभएर समग्र खेलकुद क्षेत्रमै परिवर्तन आउन थालेको महसुस खेलप्रेमीहरुले गरेका छन्।
अर्थात् एनपीएल नेपाली खेलकुद क्षेत्रलाई नै फरक स्थानमा उभ्याउने एक खुड्किलो बनेको छ। आखिर के हुन् त तीं पवर्तन्?
पहिलो परिवर्तन :
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट र फ्लड लाइड
पहिलो संस्करणको एनपीएल रुखमै समेत चढेर हेरेका दर्शकले आगामी सिजनको एनपीएल प्यारपिटमा बसेर हेर्न पाउने करिब पक्का भएको छ।
त्यसका लागि सहरी विकास मन्त्रालयअन्तगर्त ठेक्का लागेर निर्माणको चरणमा रहेको प्यारापिट पछिल्लो समय कुर्सी व्यवस्थापन गर्ने चरणमा पुगेको छ।
गत वैशाखमै काम सम्पन्न गर्ने लक्ष्यअनुसार काम थालिए पनि प्राविधिक कारणले अलिकति ढिलाई हुन पुगेको निर्माण पक्षले बताएको छ।
अहिले निर्माण अवधि थप गरेर संरचना निर्माण भइरहेका छन्।
आगामी सिजनको एनपीएल असोज र कार्तिकको बीचमा हुने प्रारम्भिक तयारी रहेकाले त्यतिबेलासम्म मैदानमा संरचना निर्माणको काम पूरा भइसक्ने निर्माण पक्षको भनाइ छ।
दोस्रो परिवर्तन :
नेपाली क्रिकेट टिमको आत्मविश्वास उच्च
एनपीएलकै प्रभावस्वरुप हुनुपर्छ पछिल्लो समय नेपाली क्रिकेट टिममा खोलाडीको आत्मविश्वास उच्च महसुस हुन्छ।
क्रिकेट वल्र्डकप लिग टु खेल्न स्कटल्याण्ड गएको टिमले लिग टु र त्यसपछिका टी–ट्वान्टी सिरिजका कुनै पनि खेलमा अर्को टिमलाई प्राय हावी हुन नदिएकोबाटै यसको पुष्टि हुन्छ।
लिग टुमा हालै भएको नेपाल–नेदरल्याण्ड्स– स्कटल्याण्डबीचको त्रिकोणात्मक खेलका ४ खेलमध्ये ३ खेलमा जित निकाल्दै नेपाली टिमका खेलाडीले आफ्नो आत्मविश्वास प्रमाणित गरिदिएका छन्।
श्रृंखलाको ४ खेलमध्ये एउटा मात्रै हारेको खेलमा पनि विशाल लक्ष्य अर्थात् ३२४ रनको लक्ष्य पछ्याउँदै ३२१ रन बनाएरै पराजित हुन पुगेको थियो।
त्यसबाहेक पछि ब्याटिङ गरेर २९८ रनको लक्ष्य समेत नेपालले जितेर आफ्नो आत्मविश्वास प्रमाणित गरिदिएको छ।
लिग टुको श्रृंखलापछि स्कटल्याण्डमै स्कटल्याण्ड, नेदरल्यणण्ड्स र नेपालबीच भएको ट्वान्टी–ट्वान्टी श्रृंखलामा पनि नेपाली खेलाडीले एनपीएलपछि आफूमा भरिएको आत्मविश्वास प्रमाणित गरिदिएका छन्।
चाहे त्यो नेदरल्याण्ड्ससँग १५३ रनको लक्ष्यमा ३ पटक सुपर ओभर गराउनुपरेको खेल होस् वा बिहीबार नेदरल्याण्ड्ससँगकै खेलमा पछि ब्याटिङ गरेर १७५ रनको लक्ष्य सहजै जित्नु होस्।
यी सबै अवसरहरुमा नेपाली खेलाडीमा एनपीएलले आत्मविश्वास भरिदिएको प्रमाणित गरिदिएका छन्।
एसोसियटका उत्कृष्ट मानिने नेदरल्याण्ड्स र स्कटल्याण्ड्सलाई यो तहसम्मको टक्कर नेपाली टिमले विदेशी भूमिमै दिनुले नेपाली टिमका खेलाडीमा एनपीएलले निकै उत्साह र आत्मविश्वास भरिदिएको प्रमाणित हुन्छ।
तेस्रो परिवर्तन :
खेलकुद क्षेत्रको बजेट करिब दोब्बर
त्यस्तै एनपीएल पछि आएको अर्को सकारात्मक परिवर्तन हो बजेट।
गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइसकेको छ। उक्त बजेटमार्फत सरकारले खेलकुद क्षेत्रको बजेटमा विगतको तुलनामा निकै वृद्धि गरेको छ।
आगामी आर्थिक वर्षका लागि सरकारले क्रिकेटका पूर्वाधारलाई नै प्राथमिकतामा राखेर खेलकुदको बजेट गत वर्षको तुलनामा करिब दोब्बर र अघिल्लो आर्थिक वर्षको तुलनामा करिबकरिब तेब्बरले बढाएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खेलकुद क्षेत्रको बजेट ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ का लागि खेलकुद क्षेत्रको बजेट ३ अर्ब ५० करोड रुपैयाँ थियो।
त्यस्तै २०८०/८१ मा २ अर्ब ७ करोड ७३ लाख रुपैयाँ तथा त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ४६ करोड रुपैयाँ बजेट सरकारले विनियोजन गरेको थियो।
चौथो परिवर्तन :
मिडियामा खेलकुद पत्रकार
फरक र विभिन्न विधामा बढी चासो राख्ने मिडियाले पनि खेलकुद पत्रकार खोजी हुन थालेको छ।
सुशासन, सामाजिक मुद्दामा बढी चासो राख्ने मिडियाले पनि एनपिएलपछि खेलकुद पत्रकारको खोजी थालेका छन्।
यसअघि बिट छुट्याएर खेलकुद पत्रकार नियुक्त नभएका मिडियामा पनि अहिले खेलकुद पत्रकार थपिएका र थपिने प्रचलन बढेको छ।
पछिल्लो समय खेलकुदलाई अर्थतन्त्रसँग जोड्ने किसिमबाट समाचार प्रकाशित गर्ने क्रम सुरु भएको छ।
जसले खेलकुदको बजेटमा हुनसक्ने बदमासीमा समेत निगरानी हुनसक्ने अपेक्षा गरिएको छ।
सरकारले खेलकुद क्षेत्रमा बजेट बढाइरहेको, क्रिकेटको माहोल राम्रो बनिरहेको र दर्शक समेत बढिरहेको बेला सञ्चारमाध्यमहरुले खेलकुद पत्रकार नियुक्त गर्नुलाई सकारात्मक रुपमा हेरिन थालेको छ।