काठमाडौं । सिटिजन्स बैंक र काठमाडौंको नागपोखरीमा रहेको ई–स्पोट नेपालबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले ई–स्पोट नेपालका सम्पूर्ण आउटलेटमा ५ प्रतिशत ईभी चार्जिङ र ५ प्रतिशत फुडमा गरी १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
साथै, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि बैंकले ल्याएको छ । सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० वटा शाखा, १६७ वटा एटीएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट १९ लाख १९ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
ई–स्पोट नेपाल सिटिजन्स बैंक